२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

झापामा वडा कार्यालय नजिक बम विष्फोट

२९ साउन,दमक । झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक आज बम विष्फोट भएको छ । ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिनुभयो । बम विष्फोटबाट कार्यालयको झ्यालको सिसा फुटेको छ भने पर्खालमा सामान्य क्षति भएको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी चौकी ग्वाल्डुब्बाका प्रहरी सहायक निरीक्षक नीलकुमार श्रेष्ठले बताउनुभयो । प्रहरी चौकी ग्वालडुब्बा वडा कार्यालयदेखि पाँच सय मिटर टाढा रहेको छ ।

जिल्लाको दमकबाट सोमबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् । पर्चा बाँड्दै गरेको अवस्थामा प्रहरीले ताप्लेजुङका २५ वर्षीय असल लिम्बू र २६ वर्षीय राजु दासलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलवार १०:१७