१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

धनगढीमा गठबन्धन दलहरूबीच चुनावी तालमेल तयारी सुरू

१२ चैत, धनगढी । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै धनगढी उप–महानगरपालिकामा सत्तारुढ दलहरूबीच तालमेलका लागि तयारी सुरू भएको छ । सुदूरपश्चिम प्रदेशकै एक मात्र उप महानगरपालिका धनगढीमा मेयर र उपमेयर कांग्रेसलाई दिने र अन्य पद बाँडफाड गर्ने गरी तालमेलका लागि छलफल भएको हो । तालमेलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी सामेल हुने गरी छन् ।

स्थानीय नेताहरूका अनुसार तालमेलतका लागि दुई चरणमा छलफल समेत भइसकेको छ । छलफलमा कांग्रेसले नगर प्रमुख र उप प्रमुखसँगै बहुमत वडा आफूलाई मागेको छ । तर, माओवादी र समाजवादीले भने उप प्रमुख कांग्रेसलाई दिन नसकिने अडान राखेका छन् । माओवादी केन्द्रले नगर उपप्रमुखसहित ६ वटा वडा माग गरेको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले पनि तालमेलको सम्भावन प्रवल भएको र आज वा भोलिसम्म टुङ्गो लाग्ने बताए । ‘यो विषयमा केन्द्रमै छलफल भइरहेको छ,’ उनले भने, ‘सायद आज बेलुका वा भोलिसम्म निर्णय हुन्छ होला ।’ उनले नगर प्रमुख, उपप्रमुख सहित १२ वडा कांग्रेसले पाउनु पर्ने माग रहेको बताए ।

‘अघिल्लो चुनावमा कांग्रेसले धनगढीको प्रमुख, उप प्रमुखसँगै १२ वडामा जित हासिल गरेको थियो,’ जिल्ला सभापति भट्टले भने, ‘ती स्थान यथावत हुने गरी सहमति हुन्छ होला ।’ सभापति भट्टका अनुसार माओवादी केन्द्रलाई यसअघि धनगढीमा जितेका पाँच वडा दिने र समाजवादीलाई एमालले जितेका तीन वडा दिने गरी छलफल भएको छ ।

धनगढी उप–महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मेयरका उम्मेदवार गोपाल हमाल यस पटक बलियो उम्मेदवारका रुपमा छन् । चैतदेखिनै टोलटोलमा प्रचार गरेर जनतामा गइरहेका हमाललाई एक्लै पराजित गर्न नसकिने कांग्रेसको बुझाई छ । सोहीअनुसार तालमेतका लागि कुरा चलेको नेताहरू बताउँछन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि गोपाल हमाल मेयर पदमा स्वतन्त्र लडेका थिए । उनी धनगढीका मेयर नृप वडसँग दुई हजार सात सय मतले पराजित भएका थिए ।

प्रकाशित मिति : March 26, 2022 at 3:22 pm