धनगढीकाे तीन आयल स्टोरमा सिल
२८ साउन,धनगढी । बजार अनुगमन समिति कैलालीको टोलीले धनगढीका विभिन्न तीन आयल स्टोरमा आज सिल गरेको छ । सिल गरिएका आयल स्टोरमा हरि आयल स्टोर, शिवशंकर आयल स्टोर र मल्ल आयल स्टोर रहेका छन् । तोकिएको परिमाणभन्दा कम परिमाणको पेट्रोलियम पदार्थ बिक्री वितरण भएको फेला परेपछि टोलीले ती आयल स्टोरलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका नायब सुब्वा रामुर्ति सिंहले जानकारी दिनुभयो ।
ती आयल स्टोरका सञ्चालकमाथि प्रचलित कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाइएको जनाइएको छ । तोकिएको भन्दा कम परिमाणमा डिजेल र पेट्रोल बिक्री वितरण भइरहेको गुनासो आएपछि बजार अनुगमन टोलीले आज धनगढीका विभिन्न छ वटा आयल स्टोरमा अनुगमन गरेको थियो । टोलीमा जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।
प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार १९:२४