२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

मन्त्री थापाद्वारा संसद्मा नागरिकता संशोधन विधेयक पेश

२८ साउन,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाली नागरिकता पहिलो संशोधन विधेयक, २०७५ पेश गर्नुभएको छ । उक्त विधेयकका बारेमा उठेको प्रश्नको जवाफमा गृहमन्त्री थापाले खुला सिमाना नियमन गर्ने सन्दर्भमा भारतसँग छलफल भइरहेको जानकारी दिँदै विगतको सन्धिसझौताका कारण जुन किसिमले नियम गर्नुपर्ने हो, त्यो भइनरहेको बताउनुभयो । उहाँले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेकका अरु अधिकार दिने ढंगबाट नागरिकताको प्रमाणपत्र प्रदान गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो ।

यसअघि नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचना बहुमतले अस्वीकृत गरेको थियो । बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी विधेयक २०७५ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उपभोक्ता संरक्षण विधेयक, २०७५ सदनसमक्ष पेश गर्नुभयो । यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई सभाले बहुमतले अस्वीकार गरेको थियो । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले पनि निवृत्तभरण कोष विधेयक २०७५ प्रस्तुत गर्नुभयो ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य दिलेन्द्रप्रसाद बडूले सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७५ पेश गर्नुभयो । त्यस्तै उपप्रधानमन्त्री एव स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ सदनसमक्ष प्रस्तुत गर्नुभयो । यसअघि विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सासद सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकले अस्वीकार गरेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार १८:३७