१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

पुन: वाम तालमेलका नाममा मुसालाई दूध खुवाउन सकिँदैनः पोलिटब्यूरो सदस्य थापा

७ चैत, काठमाडाैँ । नेकपा एमालेको सोमबार काठमाडाैँमा सम्पन्न भएको पोलिटब्यूरो बैठकमा पोलिटब्यूरो सदस्य सूर्य थापाले पार्टी नेतृत्वका लागि गठबन्धन र चुनावी तालमेलबारे चार सुझाव दिएका छन । थापाले बैठकमा राखेका सुझावको सार सामाजिक सञ्जाल फेसबुक मार्फत पनि सार्वजनिक गरेका छन । थापाका सुझाव यस्ता छन ।

१)नेकपा(मसाल)काे केन्द्रीय समितिले २०७८ माघकाे अन्तिम साता र राष्ट्रिय जनमाेर्चाकाे केन्द्रीय समितिले २०७८ कात्तिककाे अन्तिम सातामा निर्णय नै गरेर ‘…नेकपा(एमाले)सँग स्थानीय र कुनै पनि तहका निर्वाचनमा तालमेल र सहकार्य नगर्ने’ नीति सार्वजनिक गरेकाे यश बैठकलाई जानकारी गराउन चाहन्छु।

विगतमा पटकपटक तालमेलकाे नाममा मसाल/जनमाेर्चालाई जिताउने गल्ती पार्ठी नेतृत्व तहबाट भएकाे परिणामस्वरूप मुसालाई दूध खुवाएर बचाउने कार्य भयाे, अन्यथा उक्त समूह आज देशमै र प्युठानमा पनि इतिहासमा सीमित भइसक्ने थियाे।

२) २०७४ सालमा बिना तथ्य र आधार १४ हजार मत मात्र रहेकाे राष्ट्रिय जनमाेर्चालाई नेकपा(एमाले)ले आफ्नाे २८ हजार मत थपिदिने गरी गठबन्धन गरिनु गलत थियाे। देशभरि जम्मा ६२ हजार मात्र मत बटुलेकाे उक्त गुटले प्युठानमा ४७ हजार हाराहारी मत लिएर ‘महामन्त्री कामरेड’काे श्रीमतिलाई जिताउने गरी मतदान गर्नुकाे परिणामस्वरूप दूध खाएर बाँचेकाे मुसाले गण्डकी, लुम्बिनीका प्रदेश सरकार र संघीय सरकारविरुद्ध डुंगा(नाउ)मा भ्वाङ पार्ने अवसर मिल्याे।

सोमबार सम्पन्न एमालेको पहिलो पोलिटब्यूरो बैठकमा सहभागी एमाले नेता ठाकुर गैरे, सूर्य थापा, पुरूषोत्तम पाैडेल, नारदमुनी राना लगायत ।

र, हाम्राे अध्यक्ष, महासचिव र उपमहासचिवले नेतृत्व गर्नुभएका सरकार ढाल्ने र दक्षिणपन्थी अवसरवादी गठबन्धन बनाउने र त्यसमार्फत दुईचार वटा नियुक्ति खाई मूलत: एमालेविरूद्दकाे जनविरोधी माेर्चाबन्दीमा उक्त समूह निर्लज्जताका साथ सामेल भएको यथार्थलाई बिर्सेर पुन: वाम तालमेलका नाममा मुसालाई दूध खुवाउन सकिँदैन।

अब मुसालाई ‘ओखती’ खुवाएर डुंगामा प्वाल पारेर क्षति गर्ने हिजाेकाे स्थिति सधैका निम्ति अन्त्य गर्नुपर्छ। त्यस निम्ति प्युठानमा चाैथाे शक्ति (११हजार मत) मात्रै रहेकाे जनमत र वस्तुगत यथार्थविपरित ३१ हजारभन्दा बढी मत रहेकाे पहिलाे शक्ति नेकपा एमालेले अनावश्यक रूपमा तालमेलकाे मुरली धुन बजाउनु पर्दैन । काेसँग कस्ताे सहकार्य वा तालमेल गर्ने ? यसको लागि वडा कमिटी र पालिका कमिटीको सुझावमा जिल्ला कमिटीले वस्तुगत धरातलमा उभिएर निर्णय गर्दै माथिल्लो कमिटीकाे अनुमतिका साथ अघि बढ्ने विकल्प खुला गरिनुपर्छ।

३) चुनाव जित्नकाे लागि पारस्परिक लाभकाे मूल्यांकन र सहमतिमा जरूरी परेकाे बाध्यात्मक अवस्थामा मात्रै चुनावी तालमेल गर्न जाेड गर्नुपर्छ। खासमा चुनावकाे तयारी आफ्नाे सामर्थ्यमा नै आधारित गरेर गर्नुपर्छ।

४) प्युठानमा वामपन्थी नामका गुटहरूसँगकाे विगतकाे तालमेलमा हामीलाई फाइदाभन्दा घाटा र धाेका नै बढी भएको छ। यसकाे सट्टा वैकल्पिक सहकार्य र प्रतिष्पर्धामा पनि पार्टीले ध्यान दिएर यथाेचित रूपमा प्रतिस्पर्धा र सहकार्यलाई वस्तुगत आधारमा अघि बढ्नु आवश्यक छ । जनआकांक्षाविपरितका हानिकारक र धाेकाघडीपूर्ण गठबन्धन र तालमेल गरिनुहुँदैन।

प्रकाशित मिति : March 21, 2022 at 5:24 pm