११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

नारी दिवसको सन्दर्भमा एडिलेडमा पदयात्रा, नेपालमा अस्पताल निर्माणका लागि सहयोग संकलन

६ चैत, एडिलेड । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलियाको आयोजनामा पदयात्रा सम्पन्न भएको छ । यस बर्षको नारीदिवसको नारा ब्रेक द बायसका साथमा एडिलेडको मोरियल्टा कन्जरभेसन पार्कबाट बिहान पदयात्रा शुरु गरिएको थियो ।

यस वर्ष एनआरएनए नारी निकुञ्ज अष्ट्रेलियाले अस्ट्रेलियन्स फर वुमेन्स हेल्थ एण्ड रोटरी पासपोर्ट मेलबर्नसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु गर्दै दोलखा जिल्लाको चरिकोटमा महिला तथा बालबालिका अस्पतालको सहयोगार्थ कोष सङ्कलन कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

सम्बोधन गर्दै एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा ।

अष्ट्रेलियाका स्त्री रोग विशेषज्ञ शल्यचिकित्सक डा. रे ले एक दशकभन्दा बढी समयदेखि नेपाल जस्ता विकासोन्मुख देशका ग्रामीण महिलाहरूको पीडाबारे चेतना जगाउँदै आउनुभएको छ । अस्ट्रेलियन्स फर वुमेन्स हेल्थका संस्थापक डा रे ले ग्रामीण नेपालमा अस्पताल निर्माण गर्ने योजना अन्तर्गत दोलखामा अस्पताल निर्माणको योजना अघि सार्नुभएको छ ।

यहि क्रममा नारी निकुञ्ज साउथ अष्ट्रेलियाले पनि अन्तराष्ट्रिय नारीदिवस मनाउदै सहयोग संकलनका लागि पदयात्रा आयोजना गरिएको नारी निकुञ्ज साउथ अष्ट्रेलिया संयोजक अनिता लम्सालले बताउनुभयो । पदयात्राको समापनमा लामो समय देखी नेपाली ग्रामीण क्षेत्रका महिलाहरुको स्वास्थ्य सेवामा क्रियासिल अष्ट्रेलियन्स फर वुमन्स हेल्थका डा रे हटसनको पुस्तक ‘हार्टब्रेक इन द हिमालयज’ का बारेमा एनआरएनए अभियन्ताहरुले प्रकाश पार्नुभएको थियो ।

यसै क्रममा एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामाले पदयात्रामा उपस्थित तथा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै डा रे ले दोलखामा निर्माण गर्न लागेको अस्पताल र उहाको अभियानमा सबैलाई साथ दिन अनुरोध गर्नु भयो ।

एनआरएनए नारी निकुञ्ज अष्ट्रेलिया संयोजक मञ्जु खड्काले विगत बर्षहरुका नारी दिवस भन्दा फरक ढंगले यस बर्ष अस्पताल निर्माण जस्तो पुन्यको काममा सहयोग गरेर मनाउने उद्देश्यले अष्ट्रेलिया भरि कार्यक्रमहरु गरिएको बताउदै डा रे को पुस्तक माथी प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा नारी निकुञ्ज साउथ अष्ट्रेलिया संयोजक लम्सालले डाक्टर रेको नेपाल प्रतिको मायालाई सम्मान गर्दै ग्रामीण नेपाली महिलाहरूको स्वास्थ्य सेवामा सहयोग गर्ने मनसायले एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलियाले डाक्टर रेको पुस्तक विक्री गरेको रकम र थप केहि सहित परियोजनाको लागि अष्ट्रेलियन डलर ४००० भन्दा बढि उपल्वध गराउन लागिएको बताउनुभयो ।

सम्बोधन गर्दै एनआरएनए नारी निकुञ्ज अष्ट्रेलिया संयोजक मञ्जु खड्का ।

सम्बोधन गर्दै एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलिया संयोजक अनिता लम्साल ।

प्रकाशित मिति : March 20, 2022 at 5:30 pm