६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

चोलुङ पार्कमा पर्यटक लोभ्याउँदै गुराँस


५ चैत, तेह्रथुम । तेह्रथुमको चोलुङ पार्कमा फुलेको रत्ताम्यै गुराँसले पर्यटकलाई स्वागत गरीरहेको छ । पार्कको छेउमा फुलेको गुराँससँगै यतिबेला सेल्फी लिने र टिकटक बनाउनेको भिड लाग्न थालेको छ ।

पार्कमा फुलेको गुराँससँग रमाउन स्थानीय तथा आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको स्थानीयबासीको भनाइ छ । यही कारण तिनजुरे मिल्के जलजले (टिएमजे)को प्रवेशद्धारको रुपमा रहेको पार्क पर्यटकले भरिभराउ बन्न थालेको छ । टिएमजेलाई गुराँस राजधानी पनि भनिन्छ । गुराँस फुल्ने सिजन सुुरु भएसँगै यस क्षेत्रको स्वरूप नै रंगिन बनेको छ । यहाँका होटल व्यावसायी समेत पर्यटकको स्वागत सत्कारका लागि आतुर छन् ।

फागुनदेखि बैशाखसम्म फुल्ने गुराँस पर्यटकको मुख्य आकर्षण हो । कोरोना महामारीले थलिएको पर्यटन व्यावसाय बिस्तारै फस्टाउन थालेको छ । विगतका वर्षहरूभन्दा यसवर्ष अधिक मात्रामा हिउँ परेसँगै गुराँसको सिजनअघि नै पर्यटकहरू आउँन थालेका थिए । हिउँमा रमाएका पर्यटकको चाप सेलाउन नपाउँदै गुराँस हेर्ने बढेका छन् । काठमाडौबाट चोलुङ पार्क पुगेका जीवन श्रेष्ठ भन्छन्, ‘गुराँस फुलेपछि श्रीमतीसहित यता आएको छु । गुराँसको बोटमा फोटो लिने धेरै पर्यटक भेटेँ ।’

यहाँ विशेषगरी सिजनमा वसन्तपुरको चोलुङ पार्क, आरआर गार्डेन, घुर्बिसे, पाथीभरा, चौकी, मंगलबारे, गुफापोखरी हुँदै तिनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फुल्ने गर्छ । यतिबेला भने यसक्षेत्रको तल्लो भेगबाट बिस्तारै माथिल्लो भेगतर्फ गुराँस फुल्न थालेको छ । गुराँससँगै प्राकृति सुन्दरतामा रमाउन चहने पर्यटक यहाँ आउँछन् । खासगरी सार्वजानिक बिदा तथा शनिबारका दिन पर्यटकको चाप बढी हुन्छ ।

विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये यहाँ २८ प्रजाति पाइन्छ । गुराँस संरक्षणका लागि स्थानीय वन उपभोक्ता समितिले गुराँसको बिरुवा रोप्ने लगायत काम गर्दै आएको छ । गुराँस एक हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइमा पाइन्छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार १३:५७