१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

नुवाकोट मालपोत कार्यालयले अनलाइनमार्फत सेवा दिन शुरु गर्याे

२७ साउन,नुवाकोट । जिल्ला मालपोत कार्यालयले आजदेखि अनलाइनमार्फत सेवा दिन शुरु गरेको छ । कार्यालयबाट हुने गरेका सबै किसिमको कामलाई छिटोछरितो र सहज रुपमा सञ्चालन गर्न अनलाइन सेवा थालिएको हो । सेवा आरम्भ गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक मुक्ति आचार्यले अनलाइनमार्फत सेवा प्रवाह गर्दा छिटोछरितोका साथै दोहोरो नपर्ने, जग्गा किनबेचको करमा एक रुपता हुने तथा कारोबारको सबै तथ्यांक प्रभावकारी हुने बताउनुभयो ।

जग्गाधनीले कुन जग्गा बेच्ने भनेर अनलाइनमै घरबाट फारम भर्न सक्ने भएकाले सेवाग्राहीलाई सहज हुने महानिर्देशक आचार्यले बताउनुभयो । उहाँले जग्गा बिचौलियाको कारण हुने विभिन्न समस्या अर्कैको जग्गा विक्री गरिदिने भनेर अर्को स्थानको जग्गा बेच्ने जस्ता काम गर्न नसकिने भएकाले सेवाग्राहीलाई अनलाइन सेवाले ठगिनबाट पनि बचाउने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले नयाँ प्रविधिलाई कार्यालयले भित्र्याएर राम्रो कामको शुरुवात गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी उद्धबहादुर थापाले मालपोत कार्यालयमा बिचौलियको चलखेल हुने गरेको गुनासो आउने गरेकामा अब अनलाइन सेवाले त्यस्तो हुन नदिने विश्वास व्यक्त गर्नुभयो । मालपोत कार्यालयका प्रमुख बुद्धिलाल श्रेष्ठले प्रविधिमार्फत सेवा उपलब्ध गराउँदै लैजाने बताउनुभयो ।

प्रकाशित मिति : 17:25