१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

नारी निकुञ्ज साउथ अष्ट्रेलियाले नारी दिवस मनाउन पद यात्रासंगै अस्पताललाई सहयोग गर्ने

२ चैत, एडिलेड । अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलियाले मार्च २० मा पदयात्रा गर्ने भएको छ । यस बर्षको नारीदिवसको नारा ब्रेक द बायसका साथमा एडिलेडको मोरियल्टा कन्जरभेसन पार्कमा बिहान ७ बजेबाट पदयात्रा शुरु हुने एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलिया संयोजक अनिता लम्सालले बताइन ।

एनआरएनए नारी निकुञ्ज अष्ट्रेलियाले अस्ट्रेलियन्स फर वुमेन्स हेल्थ एण्ड रोटरी पासपोर्ट मेलबर्नसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु गर्दै दोलखा जिल्लाको चरिकोटमा महिला तथा बालबालिका अस्पतालको सहयोगार्थ कोष सङ्कलन कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यहि क्रममा साउथ अष्ट्रेलियामा मार्च २० आइतवार सहयोगका लागि पदयात्रा आयोजना गर्न लागिएको हो ।

पदयात्राको समापनमा लामो समयदेखि नेपाली ग्रामीण क्षेत्रका महिलाहरुको स्वास्थ्य सेवामा क्रियासिल अष्ट्रेलियन्स फर वुमन्स हेल्थका डा रे हटसनको पुस्तक ‘हार्टब्रेक इन द हिमालयज’ का बारेमा आयोजकहरुले प्रकाश पार्ने कार्यक्रम रहेको संयोजक लम्सालले जानकारी दिइन ।

अष्ट्रेलियाका स्त्री रोग विशेषज्ञ र शल्यचिकित्सक डा. रे ले एक दशकभन्दा बढी समयदेखि नेपाल जस्ता विकासोन्मुख देशका ग्रामीण महिलाहरूको पीडाबारे चेतना जगाउँदै आएका छन । अस्ट्रेलियन्स फर वुमेन्स हेल्थका संस्थापक डा रे ले ग्रामीण नेपालमा अस्पताल निर्माण गर्ने योजना अन्तर्गत दोलखा जिल्ला सदरमुकाम चरिकोटमा अपस्पतालको योजना अघि सारेका थिए ।

डाक्टर रेको नेपालप्रतिको मायालाई सम्मान गर्दै ग्रामीण नेपाली महिलाहरूको स्वास्थ्य सेवामा सहयोग गर्ने मनसायले नारी निकुञ्जले पदयात्राका क्रममा डाक्टर रेको पुस्तक विक्री गरेर परियोजनाको लागि कोषका लागि रकम उपल्वध गराउने संयोजक लम्सालले बताइन ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार १३:१९