२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

ओली निवासमा धाउन थालेका आले र श्रेष्ठको मन्त्री पद खोस्दै माधव नेपाल


१ चैत, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास धाउन थालेका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ किसानको मन्त्री पद खोस्ने तयारी भएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका नेताद्धय श्रेष्ठ र आले एमालेसँग नजिकिएको समाचार सोमबारमात्रै दैनिकी डट कममा प्रकाशित भएको थियो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्भव हुँदा चारै मन्त्री फिर्ता बोलाउने र कथंकदाचित सम्भव नभएको अवस्थामा दुई जनालाई चाहिँ फिर्ता बोलाउने तयारी गरेका हुन ।

समाजवादीले सुरूमै छ महिनाका लागि मन्त्री बनाउने घोषणा गरेको थियो । मन्त्रीहरूको कार्यकाल पनि ५ महिना पूरा हुन लागेको अवस्थामा अध्यक्ष नेपालले उनीहरूलाई फर्ता बोलाएर नयाँ पठाउने तयारी गरेका हुन । आले र श्रेष्ठसहित स्वास्थ्यमन्त्री बिरोध खतिवडा र सहरी विकास मन्त्री रामकुमारी झाँक्री चरम विवादित बनेका छन ।

झाँक्रीको पिर्के सलामीको अहिले पनि चर्चा हुने गरेको छ भने स्वास्थ्यमन्त्रीले निशुल्क पाएको खोप पैसा तिरेर लगाएँ भन्दै भ्रमपूर्ण अभिव्यक्ति दिएका थिए पनि २४ लाख खोप गायव भएको विषयमा सन्देहपूर्ण मौनता देखाएका छन ।

आलेले सबै एमालेकै कार्यकर्तालाई नियुक्ति दिइरहेका छन भने श्रमन्त्री श्रेष्ठले माधव नेपालको इच्छा विपरित मेनवारहरूसँग धम्कीपूर्ण व्यवहार देखाउँदै आएक छन । आले र श्रेष्ठ भने मन्त्रीमा निरन्तरता पाउनका लागि अनेक हतकण्डा अपनाउन थालेका छन । उनीहरू यही सरकारमा निरन्तर बस्ने वा आगामी चुनाव जित्न नेकपा एमालेमा प्रवेश गर्ने भन्नेमा दुबिधामा देखिन्छन ।

नेकपा एकीकृत समाजवादीको नीति अनुसार नै मन्त्रीहरूको प्रभावकारीता हेरेर उनीहरूको विषयमा निर्णय हुने उपमहासचिव समेत रहेका प्रवक्ता जगन्नाथ खतिवडा बताउँछन । उनलाई मन्त्री फिर्ता बोलाउने तयारीका बारेमा राखिएको जिज्ञासामा ६ महिनाको टाइमलाइन रहेकाले अझै केही दिन यिनै मन्त्रीले निरन्तरता पाउने बताउँछन ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार ११:१६