२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

प्रेम आले र किसान श्रेष्ठ एमालेमै फर्किने, रातिराति ओली निवास जाने गरेको खुलासा


३० फागुन, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता समेत रहेका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ किसान नेकपा एमालेमै फर्किने तयारी गरेका छन । चुनाव नजिकिँदै गएपछि उनीहरू एमालेमै फर्किने तयारीमा जुटेका हुन ।

आले र श्रेष्ठले पुनः एमाले फर्किने तयारीका लागि अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता वाक्लो बनाएपछि समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले संकेतिक कुरा गर्दै उनीहरूको प्रवृतिको बिरोध गरेका छन । उनीहरूले यसअघि नै देखि एमालेमा फर्किने प्रयास गर्ने र त्यो प्रयास सम्भव नभए कांग्रेस नै प्रवेश गरेर भए पनि प्रतिनिधिसभाको अबको चुनाव जित्ने निष्कर्षमा आफ्ना गतिबिधि अघि बढाएका छन ।

यद्यपी कांग्रेस प्रवेश गरेपनि उनीहरूले अहिले राजनीति गर्दै आएको भूगोलमा टिकट पाउने सम्भावना निकै न्यून रहेको छ । आलेको क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता वीरबहादुर बलायरले चुनावी प्रतिस्पर्धा गर्दै आएका छन भने श्रेष्ठको क्षेत्रमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीति गर्दै आइरहेका छन । त्यसकारण उनीहरू एमालेमै फर्किएर आफनो राजनीति जोगाउने अभियानमा लागेका छन ।

आलेले त नेकपा एमाले निकटका व्यक्तिलाई धामाधम नियुक्ति समेत दिइरहेका छन । उनको सल्लाहकारको भूमिकामै नेकपा एमालेका नेता चन्द्र रिजाल रहेका छन । उनले अहिले गर्ने हरेक निर्णय रिजालको सुझावमा आधारित हुने गरेको छ । रिजालकै सुझावमा आलेले एमालेको पर्यटन इलाका कमिटीका नेता लिला लामालाई पर्यटन बोर्डको सदस्यमा नियुक्त गरेका थिए भने केही दिनअघिमात्र नेकपा एमालेको सर्लाही काठमाडौँ सम्पर्क मञ्चका पूर्व अध्यक्ष नारद लुइँटेलाई तारागाउँ विकास समितिको सदस्य सचिवमा नियुक्त गरेका थिए ।

सामाजिक सञ्जालमा लामो टिप्णी लेख्दै अध्यक्ष पराजुलीले एउटा पार्टीमा बसेर रातिराति अर्कै पार्टीको नेतासँग भेटघाट गर्ने कुरा गलत भएको बताएका छन । आले र श्रेष्ठको भूमिका विवादित भएको र पार्टीका लागि काम नगरेको भनेर माधवकुमार नेपालले हटाउने चर्चा पनि चलेको थियो । यस्तै चर्चाको बीचमा तनहुँबाट निर्वाचित किसान बालकोट पुगेको सुइको समाजवादीका नेताहरूले पाएका छन ।

अनेरास्ववियूका अध्यक्ष पराजुलीले आले र श्रेष्ठले कार्यकर्ता भन्दा पनि दलालसँग सम्बन्ध सुधार गर्न लागि परेको बताएका छन । उनले भनेका छन, ‘मन्त्री र मन्त्रालय आम जनताको हुनुपर्छ यसमा सम्बन्धित पार्टीको मन्त्री बनेमा वा भएमा मन्त्री र जनताको सम्बन्धलाई सम्बन्धित पार्टीका कार्यकर्ताले सुमधुररकसिलो वनाउनु पर्दछ । तर यहाँ मन्त्री स्वयं जनता र कार्यकर्तासंग भन्दा बढि सम्बन्ध दलाल माफियासंग कसिलो बनाउन लालायित देखिन्छन् ।’

उनले माफिया र भ्रष्टसँग घाँटी जोड्नेहरूले कसरी समाजवादको जग बसाउने हुन भन्दै लेखेका छन, ‘मन्त्री भए पछि माफिया दलाल भ्रष्टाचारी नै प्यारो ठान्ने मन्त्रीबाट समाजवादको जग बसाउन हम्मे हम्मे छ । मन्त्री भनेको भुडी ठुलो बनाउनु र हल्लाउनु होईन जनताको प्यारो बन्नुरहुनु हो । मन्त्रीहरुको यस्तो व्यवहारबाट हामीले सोचेको यात्रामा अवश्य पनि प्रश्न लागेको छ ।’

अध्ययक्ष पराजुलीले समाजवादी पार्टीबाट मन्त्री बनेको नेता राति राति अर्को पार्टीको अध्यक्षको घरमा गेट पाले बस्न जानु झन गम्भीर रहेको बताएका छन । उनले यस्तो कार्यशैलीको समिक्षा गर्नुपर्ने पनि बताएका छन । उनले अघि भनेका छन, ‘अर्को गम्भीर कुरा त मन्त्री एउटा पार्टीबाट बन्ने अनि राती राती अर्को पार्टीको अध्यक्षको घरमा गेटपाले बस्न जाने १ यस्ता गतिविधि गर्ने मन्त्रीको कार्यशैलीमा गम्भीर समिक्षा गर्नु जरुरी छ ।’

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार ०९:२६