१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

८-१० चैतमा ‘डडेल्धुरा महोत्सव’ हुने

३० फागुन, डडेल्धुरा । ‘डडेल्धुरा महोत्सव २०७८’ हुने भएको छ। अमरगढी नगरपालिकाको आयोजनामा ८ देखि १० चैतसम्म टुँडिखेलमा ‘डडेल्धुरा महोत्सव’ हुने भएको हो। आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै नगरपालिकाले महोत्सवबारे जानकारी दिएको हो। रजत जयन्तीको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गर्न लागेको नगर प्रमुख विशेश्वरप्रसाद ओझाले बताए।

‘हामीले आफ्नो कार्यकालको अन्तिम समयमा महोत्सव गर्ने अवसर पाएका छौं। यो एउटा सुनौलो अवसर हो। महोत्सवले अमरगढीको मात्र नभएर डडेल्धुरासहित सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्नेछ,’ उनले भने, ‘सुदूरपश्चिमा थुप्रै पर्यटकीय स्थल भए पनि प्रचार-प्रसार हुन नसक्दा ओझेलमा परेको छ।’

महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण गर्ने नगर प्रमुख ओझाले जिकिर गरे। महोत्सवमा सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणमा जोड दिइनेछ। प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गरिन लागिएकाले कर्णाली पारिका कुनै पनि कलाकारलाई महोत्सवमा स्थान नदिइने ओझाको भनाइ छ। महोत्सवमा सुदूरपश्चिमका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै हुडकेली, छलिया, डेउडालगायतका स्थानीय प्रस्तुति हेर्न सकिनेछ। महोत्सव निःशुल्क हेर्न पाइनेछ।

प्रकाशित मिति : March 14, 2022 at 4:05 pm