१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

निर्वाचन आयोगले थाल्याे मतदाता नामावली अध्यावधिक

२९ चैत, धनगढी । स्थानीय तह निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक थालेकाे छ । निर्वाचन कार्यालय कैलालीका अनुसार माघ महिनामा नयाँ मतदाताको नामावली संकलन गरेकाे र अहिले पूराना मतदाताको अध्यावधिक भइरहेकाे छ । १८ पुसमा मतदाता नामावली दर्ताका लागि आव्हान गरिएको थियो । सो समयमा २३ हजार चार सय ५६ नयाँ मतदाता थपिएका थिए ।

‘यसबीचमा पनि केही मतदाताको मृत्यु भइसकेको होला । कसैले बसाई सरेर गएका होलान वा नाम सच्याइनु पर्ने हुन सक्छ,’ जिल्ला निर्वाचन कार्यालय कैलालीका सूचना अधिकारी राजेश चौधरीले भने, ‘सोही विवरण अध्यावधिकका लागि अहिले मतदाताको नामावली जिल्लाका सबै पालिकामा पठाइएको छ, वडाबाट अध्यावधिक भएर आएपछि केन्द्रमा विवरण पठाइने छ ।’

जनप्रतिनिले वडामा गएर मतदाताको सहि विवरण उपलब्ध गराएपछि नयाँ नामावली सार्वजनिक गरिने सूचना अधिकारी चौधरीले बताए । ‘नयाँ थपिएका मतदाताको नामावली कम्पुटराइज गर्ने काम भएरहेको छ,’ सूचना अधिकारी चौधरीले भने, ‘वडाबाट अध्यावधिक भएर आएका नामावलीमा नयाँ थपिएका मतदातालाई समेत समावेस गरेर चैत दोश्रो सातासम्म नयाँ नामावली सार्वजनिक गर्ने तयारी भइरहेको छ ।’ उनले मतदाता नामावलीको तथ्या‌ंक केन्द्रले नै सार्वजनिक गर्ने बताए । मंसिर २०७४ मा सम्पन्न निर्वाचनसम्म कैलालीमा चार लाख ६३ हजार दुई सय ९२ मतदाता थिए ।

प्रकाशित मिति : March 13, 2022 at 5:06 pm