२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमसीसीलाई लिएर धेरैले भ्रम छरे, यो नेपालकै हितमा छ – प्रकाशमान सिंह

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितका लागि आवश्यक रहेकाले कांग्रेसले यसअघि प्रतिपक्षमा रहँदासमेत अमेरिकी सहयोग परियोजना मिलेनेयिम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को वकालत गरेको बताएका छन् । काठमाडौँ क्षेत्र १ अन्तर्गत महानगरपालिका- ३१ को शंखमूलमा आज बिहान आयोजित बुथ कार्यसमिति गठन समारोह सम्बोधन गर्दै उनले एमसीसी नेपालको हितका लागि आवश्यक भएका कारण वकालत गरिएको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ नेता सिंहले भने । उनले एमसीसीका बारेमा भ्रम छर्नेहरूले हुँदै नभएको कुरा गरेर इन्डो–प्यासिफिक रणनीतिसँग जोडेकोप्रति आपत्ति जनाए ।

‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरूले नेपाल आईपीएसको अंग बन्यो भनेर भ्रम छरे,’ नेता सिंहले भने, ‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ । यसलाई हामीले छाडेका छैनौँ । नेपाल अमेरिकी एक्सिसमा गयो । असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन ।’ नेता सिंहले अब पार्टीका सबै नेता कार्यकर्ताले नागरिकको घरघरमा पुगेर वास्तविकता बुझाउँदै कांग्रेसलाई मत दिएर जिताउन लाग्न निर्देशन दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार ११:५७