८ असार २०८३, सोमबार | Mon Jun 22 2026

देश बनाउने संकल्प गरौंः मन्त्री बाँस्कोटा

२६ साउन,बनेपा  । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब सबै मिलेर देश बनाउने संकल्प गर्नुपर्ने बताउनुभएको छ । आज काभ्रेलाञ्चोकको धुलिखेलमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा, सिङ्गापुर रेडक्रस र प्रारम्भ संस्था ललितपुरको संयुक्त आयोजनामा भएको प्राथमिक स्वास्थ्य सामग्री वितरण कार्यक्रममा बोल्नुहुँदै मन्त्री बाँस्कोटाले समृद्धिका लागि गरिबीविरुद्ध लड्नुपर्ने समय आएको बताउनुभयो ।

उहाँले राष्ट्रले लिएको समृद्धिको अभियानलाई साकार तुल्याउन स्वदेशी तथा विदेशी सहयोगी दातासँग आ–आफ्नो ठाउँबाट योगदानका लागि आग्रह गर्नुभयो ।कार्यक्रममा पूर्व ऊर्जा राज्यमन्त्री सूर्यमान दोङले शहरी क्षेत्रमा भन्दा विकट क्षेत्रका गाउँपालिकामा प्राथमिक स्वास्थ्य सामग्री वितरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अर्थ मन्त्रालयका सचिव राजन खनालले प्राथमिक स्वास्थ्य सामग्री दैनिक जीवनसँग जोडिने कुरा भएकाले हेर्दा सामान्य भए पनि ठूलो अर्थ रहने बताउनुभयो ।

कलाकार हरिवंश आचार्यले विपत् प्राकृतिक प्रकोपले मात्रै नभई मानिसले आफ्नो जीविका चलाउने सवालमा आफैँले सुरक्षित व्यवस्थापन गर्न नसक्दा पनि आउने गरेको उल्लेख गर्नुभयो ।

सो अवसरमा सिङ्गापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्री, कलाकार हरिवंश आचार्य र अर्थ मन्त्रालयका सचिव राजन खनाललाई नेपाल पत्रकार महासंघ काभ्रे शाखा र प्रारम्भ संस्था ललितपुरले संयुक्त रुपमा सम्मान गरेको थियो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डन देउपुर नगरपालिका, धुलिखेल नगरपालिका, रोशी गाउँपालिका र नेपाल पत्रकार महासंघलाई गरी कूल दुई हजार ६४० थान प्राथमिक स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

प्रकाशित मिति : August 11, 2018 at 3:20 pm