२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

धार्मिक ‘सर्किट’ बनाइन्छ : मुख्यमन्त्री पोखरेल

२३ फागुन, रत्नेचौर (म्याग्दी) । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले धार्मिक ‘सर्किट’ बनाउन लागिएको बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–१ मा आजदेखि सुरु भएको ‘रत्नेचौर धार्मिक महोत्सव’ को उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटनको विकासका लागि मुक्तिनाथ, लुम्बिनी, जनकपुरधाम र विन्धवासिनीलाई समेटेर धार्मिक सर्किट बनाउन लागिएको बताउनुभयो । “धार्मिक पर्यटक भित्र्याउनका लागि गण्डकी, लुम्बिनी र मधेश प्रदेशको सर्किट बनाउन लागिएको हो”, उहाँले भन्नुभयो, “धार्मिकस्थललाई हवाई र सडक मार्गबाट जोड्न प्राथमिकता दिएका छौँ ।”

शनिबारदेखि पोखरा–जनकपुरधाम हवाई उडान सुरु गरिएको बताउँदै मुख्यमन्त्री पोखरेलले निर्माणाधीन कालिगण्डकी कोरिडोर सडकलाई पूर्णता दिने र कोरला नाका खुलाएर चिनका वौद्धधर्मावलम्बीलाई लुम्बिनी तथा भारतका हिन्दू धर्मावलम्बीलाई मुक्तिनाथ भित्र्याउने योजनाअघि सारिएको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले गण्डकीका पर्यटकीय र धार्मिकस्थललाई पनि एकअर्कासँग जोडेर विकास गर्न थालिएको बताउनुभयो । हिमाल र मधेसको समृद्धिमा एकअर्काको सम्बन्ध रहेको बताउँदै पोखरेलले कालीगण्डकी सभ्यता गण्डकीको समृद्धिको आधार भएको बताउनुभयो ।

लक्ष्मीहरि मन्दिरको २५औँ रजतजयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीको नक्षत्र शताब्दीको अवसरमा फागुन ३० गतेसम्म धार्मिक महोत्सव आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष नेत्रबहादुर महतले बताउनुभयो । लक्ष्मीहरि मन्दिरका संस्थापक जीयर स्वामीले रत्नेचौर मुक्तिक्षेत्रको प्रवेशद्धार भएकाले यसको धार्मिक र पर्यटकीय दुवै किसिमको महत्व भएको बताउनुभयो । रत्नेचौर क्षेत्रमा रहेको धार्मिक महत्वलाई उजागर तथा प्रचारप्रसार र लक्ष्मीहरि मन्दिरको चौतर्फी विकासका लागि महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष एवं मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

‘‘तोरीबारीका कारण भाइरल बनेको रत्नेचौरमा धार्मिक पर्यटनको सम्भावना छ”, उहाँले भन्नुभयो, “महोत्सवले यहाँका धार्मिक महत्वको गरिमा बढाउन सहयोग पुग्ने हामीले विश्वास गरेका छौँ ।’’ भौगोलिक रुपमा रमणीय र मुक्तिनाथ प्रवेशद्धार रत्नेचौरको धार्मिक महिमालाई उजागर गर्न महोत्सव सहयोगी हुने जगतगुरु रामानुजाचार्य यतिराज स्वामी हिमालय बाबाजीले बताउनुभयो । हिमालय बाबाजीको तत्वावधानमा महोत्सव सञ्चालन भएको हो । मन्दिर स्थापना भएको २५ वर्ष र मन्दिरका संस्थापकाचार्य १०० वर्ष पूरा भएको अवसरमा आयोजित महायज्ञमा सङ्कलन हुने रकमलाई यस क्षेत्रको धार्मिक पर्यटन पूर्वाधार निर्माणमा परिचालन गरिने मूल आयोजक समितिका उपाध्यक्ष चीरञ्जीवी बोगटीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार १८:४०