हाजिर गरेर टापकस्ने चिकित्सकलाई स्थानीय प्रशासनद्वारा कारवाहीकालागि सिफारिश
२६ साउन,जाजरकोट । महिना बित्नु अगावै हाजिर गरेर बेपत्ता हुने चिकित्सकलाई स्थानीय प्रशासनले कारवाहीका लागि सिफारिश गरेको छ । जाजरकोट जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा पूर्णिमा राईले साउनभरिको हाजिर गरेर जिल्ला छाडेको समाचार प्रकाशित भएपछि उहाँलाई कारवाही प्रक्रिया अघि बढाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाको नेतृत्वमा उक्त अस्पतालमा गरेको छड्ने अनुगमनमा अस्पताल प्रमुखलाई जानकारी नै नदिइ हाजिर कापीमा साउनभरिको हाजिर जनाई नेपालगञ्ज गएको पाइएकाले निजलाई स्वास्थ्य सेवा ऐनअनुसार कारवाहीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित स्वास्थ्य सेवा निर्देशनालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलगायतमा लिखित पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताउनुभयो ।
उहाँले जिल्ला छाडेपछि प्रसूतिलगायत स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प छ । दुई वर्षअघि नै १५ श्ययाबाट ५० श्ययामा स्तरोन्नति गरिएको उक्त अस्पतालमा नौ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हालसम्म विशेषज्ञ सेवा शुरु हुन सकेको छैन ।
प्रकाशित मिति : August 11, 2018 at 9:46 am









