२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

कालिकोटका व्यापारी मृत्यु प्रकरण : छानबिन समिति गठन

२१ फागुन, सुर्खेत । सुर्खेतमा कालिकोटका एक व्यापारीको शंकास्पद मृत्यु भएको बिषयमा छानबिन हुने भएको छ । नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदा गरेका कालिकोट तिलागुफा नगरपालिका–३ का ३२ वर्षीया कृष्ण हमाल(मिनी)को शंकास्पद मृत्यु भएको थियो । हमालको मृत्युका बिषयमा आफन्त र जिल्ला प्रशासन कार्यालयबीच छानबिन समिति गठन गर्ने सहमति भएको हो ।

घटनाका बिषयमा सत्यतथ्य गर्नका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तिमगर, अनुसान्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएन सुर्खेत अध्यक्ष उत्तमप्रसाद आचार्य सदस्य रहेको छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए ।

छानबिन समितिले तिन दिन भित्र प्रतिवेदन प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने, छानविन समितिले पेश गरेको प्रतिवेदनका आधारमा जुनसुकै व्यक्ति दोषी देखिएता पनि कानुनी कारवाही अगाडी बढाउने र छानविनको कामलाई सहज बनाउनका लागि बिरोधका कार्यक्रम नगर्ने र पोष्टमार्टमका लागि शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाउने सहमति भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार १८:२५