१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्छ : वरिष्ठ नेता पौडेल

 नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उहाँले जनताको समस्याबारे बहस र छलफल गर्ने थलो संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताउनुभयो ।

“संसद् नचल्ने, जनताको समस्या छलफल नहुने हुनु हुँदैन, संसद् चल्नु पर्छ”, उहाँले भन्नुभयो । पूर्वसभामुखसमेत रहनुभएका पौडेलले लामो समयसम्म संसद् अवरोध गर्दा जनताका धेरै समस्या अड्किएर बसेको बताउनुभयो । निजामती कर्मचारी ऐन दुई वर्षदेखि संसद्मा अड्किएर बस्नु दुःखद् भएको उहाँको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले सङ्घीय तहका कर्मचारी प्रदेश वा स्थानीय तहमा र प्रदेश वा स्थानीय तहका कर्मचारी सङ्घीय आवश्यक परेमा सरुवा आउन जान पाउने गरी ऐन आउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले पेशागत हक र अधिकारको सुनिश्चित गर्दै जनताको सेवामा लाग्न सम्पूर्ण कर्मचारीलाई आग्रहसमेत गर्नुभयो ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निजामती सेवा ऐन तत्काल संसद्बाट पारित गर्नुपर्ने बताउनुभयो । “सबै राजनीतिक दलको छलफलमा निजामती सेवा ऐन संसद्बाट पारित गर्नुपर्छ”, उहाँले भन्नुभयो । उपसभापति गुरुङले नेता र कर्मचारी देश र जनताप्रति इमान्दार भए मुलुकभित्र रहेको विकृति, विसङ्गति र भ्रष्टाचार अन्त्य हुने बताउनुभयो । आगामी निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ट्रेड युनियनको अधिकारसहित सङ्घीय निजामती ऐन अगाडि बढाउन कांग्रेस कटिबद्ध रहेको बताउनुभयो । उहाँले निजामती कर्मचारी देशको स्थायी सरकार भएको बताउँदै मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउन कर्मचारीको ठूलो भूमिका रहेको बताउनुभयो ।

कांग्रेसका अर्का महामन्त्री गगनकुमार थापाले विधिसम्मत् ढङ्गले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन कांग्रेसको वर्तमान नेतृत्व लागेको भन्दै पार्टीका भातृ एवं शुभेच्छुक संस्थाको अधिवेशनमा कांग्रेस नेतृत्वबाट हस्तक्षेप गर्न नहुने बताउनुभयो । संसद्को अधिवेशन टुङ्गिनुभन्दा पहिले निजामती ऐन पास गराउने दिशामा वर्तमान सरकार लाग्ने उहाँको भनाइ छ । महामन्त्री थापाले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै सम्पन्न हुने स्पष्ट पार्नुभयो ।

नेपाल निजामती कर्मचारी युनियनका राष्ट्रिय अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै सेवाका कर्मचारीको अधिकारलाई समेटेर आधिकारिक ट्रेड युनियनको निर्वाचन हुनुपर्ने धारणा राख्नुभएको थियो । उहाँले कम्युनिष्ट सरकारले विचार र आस्थाका आधारमा कर्मचारी सरुवा, बढुवा गरेर कर्मचारीलाई दुःख दिएको गुनासो गर्नुभयो ।

युनियनका पूर्वअध्यक्ष इञ्जीनियर सुवोधकुमार देवकोटा, भानुभक्त ढकाल, राष्ट्रिय निजामती कर्मचारी सङ्गठनका अध्यक्ष हरिबहादुर रावत, नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष केदार देवकोटा, मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीलगायतले मुलुकको विकासका लागि सरकार र निजामती कर्मचारी सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।

प्रकाशित मिति : March 5, 2022 at 5:26 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/