१४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026

समयमा निर्वाचन गर्न उपाध्यक्ष नेम्वाङको आग्रह

२१ फागुन, काठमाडाैँ । नेकपा (एमाले)का उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न माग गर्नुभएको छ । प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशको आज आयोजित प्रथम संयुक्त अधिवेशनको उद्घाटन गर्दै उहाँले तोकिएको समय (वैशाख ३०) गते नै स्थानीय तहको निर्वाचन गर्न माग गर्नुभयो । उपाध्यक्ष नेम्वाङले निर्वाचनमा गएर राजनीतिक दललाई जनताले दूधको दूध र पानीको पानी छुट्याउन दिनुपर्ने बताउनुभयो । उहाँले संविधान अनुसार अब तीनै तहको निर्वाचनमा होमिनुको विकल्प नरहेकोसमेत बताउनुभयो ।

कार्यक्रममा एमाले बागमती प्रदेशका अध्यक्ष केशव पाण्डेले पत्रकारले सत्य–तथ्य र निष्पक्षताका आधारमा जनअपेक्षाअनुसार काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालको बागमती प्रदेशभित्रको चितवन शाखालाई उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गरिएको छ । कार्यक्रममा चौतारीका पूर्व अध्यक्ष गगन विष्ट, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष टीका विष्ट, गणेश पाण्डे, महासचिव राजेश राई, उपमहासचिव हीरामान लामा, उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, प्रतिष्ठानका इञ्चार्ज हरिबल्लभ नेपाल, एशोसिएट प्रदेशका इञ्चार्ज रामेश्वर कार्कीलगायतले महाधिवेशनपछि चौतारीले वैचारिक, व्यावसायिक र साङ्गठनिक क्षेत्रमा सक्रियता अपनाउने बताउनुभयो । चार वटै प्रदेशका अधिवेशनको बन्दसत्रले आजै नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : March 5, 2022 at 4:07 pm