२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

शुक्रपथ बहुउदेश्यीय सहकारीको प्रमुख कार्यकारीमा जीवनराज ओझा नियुक्त

१९ फागुन, काठमाडौँ । शुक्रपथ बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको प्रमुख कार्यकारीमा जीवनराज ओझा नियुक्त भएका छन् । संस्थाको बोर्ड बैठकले ओझालाई आगामी चार बर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । ओझाले संस्थाको स्थापनाकाल देखि नै विभिन्न पदमा रहेर काम गर्दै आएका थिए ।

लामो अनुभव, लगनशीलता, बजार पहुँच, वित्तिय ज्ञान र प्रभावकारी नेतृत्व क्षमता भएका कारण ओझाको नेत्रृत्वमा सहकारीले अझ गति लिने सहकारीले जनाएको छ । नवनियुक्त कार्यकारी प्रमुख ओझाले पदभार ग्रहण गर्दै समुदायमा छरिएर रहेको पुँजी, प्रतिभा र प्रविधिलाई त्यहि समुदायको उन्नती र विकासका लागि प्रयोग गर्दै संस्थागत विकास र सदस्यहरुको सीप, क्षमता र दक्षतामा आधारित व्यवसायको प्रवद्र्धन गर्न थप कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यकारी प्रमुख ओझाले शुक्रपथ सहकारीका सदस्यलाई उत्पादनशील र व्यावसायिक बनाएर गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्न आफु प्रतिवद्ध रहेको बिचार समेत व्यक्त गरे । काठमाडौँको न्यूरोडमा मुख्य कार्यलय रहेको शुक्रपथ बहुउदेश्यीय सहकारी लिमिटेडका उपत्यका बाहेक नुवाकोट र चितवन गरी दश स्थानमा सेवा केन्द्रहरु संचालनमा छन् ।

आर्थिक क्रान्तिका लागि सहकारी , हटाउँ गरिबी र बेरोजगारी भन्ने मूल नाराका साथ विगत ११ बर्ष देखि सहकारी अभियानमा रहेको शुक्रपथ सहकारीको प्रमुख कार्यकारीमा नियुक्त भएपछि ओझाले सहकारी अभियानलाई थप मजबुत र सशक्त बनाउन आफुले सक्दो पहल गर्ने धारणा राखेका छन् । शुक्रपथ सहकारीले हालसम्म १ अर्व ७० करोड बचत संकलन गरी १ अर्व ६५ करोड ऋण लगानी गरेको छ भने सहकारीमा १२ हजार सदस्यहरु आवद्ध रहेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार १६:०२