८ असार २०८३, सोमबार | Mon Jun 22 2026

अमेरिकाको भिसा लगाई दिन्छु भन्दै ठगी गर्ने प्रशन्न खाती पक्राउ

२५ साउन,काठमाडौँ । विभिन्न प्रविधिको दुरुपयोग गरी अमेरिकाको भिसा लगाई दिने र अमेरिकी राजदूतावासबाट परियोजनाको नाममा आएको रकम निकासा गरी दिने प्रलोभन देखाइ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ डिल्लीबजार घर भई हाल गोकर्णेश्वर बस्ने २७ वर्षीय प्रशन्न खातीलाई अमेरिकी राजदूतावासको भिसालगायतका कागजात नक्कली बनाई ठगी गरेको कसुरमा पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले विज्ञप्तिमार्फत जनाएको हो ।

पीडितसँगको प्रारम्भिक सोधपुछबाट अभियुक्त खातीले आफू अमेरिकाको डिस्कभरी च्यानलको कर्मचारी भएको भनी नक्कली परिचयपत्रसमेत देखाई तीन जना पीडितलाई ठगी गरेको सिआइबीले जनाएको छ । पीडितलाई सामाजिक सञ्जाल फेसबुकबाट साथी बनाई विभिन्न प्रलोभनमा पारेर अमेरिकाको भिसा लागेको नक्कली भिसा मोबाइलमा देखाई पटक–पटक गरी विभिन्न प्रक्रियागत खर्चको नाममा रु २० लाख लिएको पीडितले बताएका थिए ।

पीडितले खातीलाई चिनजान गराइदिएका अर्का पीडितलाई समेत निजले अमेरिकन राजदूतावासअन्तर्गत रहेको कोषबाट परियोजना सञ्चालनको लागि रकम निकासा गर्न सकिन्छ भनी प्रलोभन देखाई पटकपटक गरी रु २५ लाख ठगी गरेको पीडितले बताएका छन् । अभियुक्त खातीले पीडितबाट पैसा लिन विभिन्न बैंकको नक्कली स्टेटमेन्ट नक्कली कागजात बनाएर ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।

यसैबीच प्रविधिको दुरुपयोग गरी ठगीमा संलग्न व्यक्तिले बार कोड, बैंक स्टेटमेन्ट विभिन्न परिचयपत्र, कूटनीतिक तथा उच्च पदस्थ पदाधिकारीको इमेल आइडीजस्तै देखिने गरी आइडी तयार गरी ठगी गरिरहेको पाइएकाले त्यसतर्फ सम्पूर्ण व्यक्ति तथा समुदाय सचेत रहन सिआइबीले अपिल गरेको छ ।

प्रकाशित मिति : August 10, 2018 at 7:21 pm