२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

रौतहटको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेल घुससिहत रंगेहात पक्राउ

१५ फागुन, काठमाडाैँ । रौतहटको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको छ । सेवाग्राहीसँग पाँच लाख घुस लिइरहेको अवस्थामा नगरप्रमुखसहित अन्य चार जना पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट डिएसपी पुष्प मल्लको नेतृत्वमा खटिएको टोलिले दुई लाख पचास हजार नगद तथा दुई लाख पचास हजारको चेकसहित अख्तियारको टोलिले मेयर कक्षबाटै रङ्गे हात पक्राउ गरेको  हो । अख्तियारले अबेर जारी गरेको विज्ञप्ति अनुसार जिल्ला रौतहट, देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग रु.५,००,०००।– घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीद्वारा नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल, निजका सहयोगी अशोक प्रसाद पटेल,  योजना शाखाका प्रमुख (खरिदार, चौथो तह) मुकेश पटेल  र सह-लेखापाल प्रदिप कुमार यादवलाई सेवाग्राहीबाट घुस/रिसवत बापत रु.२,५०,०००।– (दुई लाख पचास हजार रुपैयाँ) नगद र रु. २,५०,०००।– (दुई लाख पचास हजार रुपैयाँ) को चेक लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित नगर प्रमुखकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आईतवार २१:१९