२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

एमालेले जनसंगठनलाई थप प्रभावकारी बनाउँदै, एकरूपता ल्याउन निर्देशिका जारी


२९ माघ, काठमाडाैँ । नेकपा एमालेले जनसंगठन निर्देशिका लागू गरेको छ । जनसंगठन समन्वय संयन्त्रले तयार पारेको निर्देशिकालाई केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरी माघ १९ गतेदेखि लागू हुने गरी निर्देशिका जारी गरिएको हो ।

निर्देशिकामा जनसङ्गठनमा क्रियाशील पार्टी सदस्यहरूको पार्टी हैसियत निर्धारण गरिएको छ । जसअनुसार जनसङ्गठनका केन्द्रीय कमिटीका पदाधिकारीहरू– पार्टी प्रदेश कमिटी सदस्य सरह रहने छन ।

यस्तै जनसङ्गठनका केन्द्रीय कमिटीका सदस्यहरू र प्रदेश कमिटीका पदाधिकारीहरु– पार्टी जिल्ला कमिटी सदस्य सरह हुने, जनसङ्गठनका प्रदेश कमिटी सदस्यहरू तथा जिल्ला कमिटीका पदाधिकारीहरु– पार्टी संघीय निर्वाचन क्षेत्रीय कमिटी सदस्य सरह, जनसङ्गठनका जिल्ला कमिटीका सदस्यहरु– पार्टी गाउँ तथा नगर कमिटी सदस्य सरह रहने ब्यवस्था गरिएको छ । निर्देशिकाअनुसार उल्लिखित हैसियत पार्टी कमिटीमा प्रतिस्पर्धा गर्नका लागि मात्र मापदण्डका रुपमा मानिनेछ ।

निर्देशिकामा सवै जनसंगठनको पदाधिकारी र केन्द्रीय कमिटीको आकार समेत तोकिएको छ । जनसंगठन समन्वय संयन्त्रले २२ ओटै जनसंगठनको पदाधिकारी बढीमा १७ जना रहने ब्यवस्था गरेको हो ।

संयन्त्रले जनसंगठनलाई दुई तहमा बर्गीकरण गर्दै २ सय ९९ र १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहने निर्णय पनि गरेको छ । वडा तहसम्म साँगठानिक संरचना भएका राष्ट्रिय युवा संघ नेपाल, अनेरास्वबियु, अनेमसंघ, खेलकुद महासंघ, जनजाती महासंघसहित १० ओटा जनसंगठनको केन्द्रीय कमिटी बढीमा २ सय ९९ सदस्यीय रहने ब्यवस्था गरिएको छ ।

यस्तै प्रेस चौतारी नेपालसहित १२ ओटा संगठनको केन्द्रीय कमिटीको आकार बढीमा १ सय ५१ सदस्यीय रहने ब्यवस्था गरिएको छ। पदाधिकारीमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष एक जना रहने र अन्य पद उपाध्यक्ष, उपमहासचिव र सचिव एक भन्दा बढी संख्या राख्न सकिने ब्यवस्था निर्देशिकाले गरेको छ । बैठकबाट पारित निर्णयअनुसार अव जनसंगठनले बरिष्ठ उपाध्यक्ष राख्न नपाउने भएका छन ।

एमालेले जनसंगठन समन्वय संयन्त्रको प्रमुखमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र सहसंयोजकमा केन्द्रीय सदस्य रचना खडकालाई जिम्मेवारी दिएको छ । संयन्त्रमा सवै जनसंगठनका इञ्चार्ज, सहइञ्चार्ज र जनसंगठनका अध्यक्ष सदस्य रहने ब्यवस्था छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार २१:०४