१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

फेक रेस्क्युको कारबाहीले पर्यटन क्षेत्रमा अधिनायकवाद अाउने खतरा !

–ध्रुव लम्साल

असोजको महिना यसै घमाइलो हुन्छ । त्यसमाथि दसैं । स्वदेशको कुरा छोडौं, विदेशमा बस्नेहरू समेत छुट्टी मिलाएरै गाउँ पुगेकै हुन्छन् । डाँडाडाँडामा डोजरले खनेका कच्ची बाटोले घरसम्मै गाडीमा जाने सुविधा दिएको छ, हुने खानेलाई ।

पहाडको बाटो । डाँडामुनी घर । पाँचवटा हाइलक्स गाडी घरमाथिको पाटोमा रोकिन्छ । गाडीबाट क्रमशः मान्छेहरू निस्कन्छन् गोरा छाला भएका । सबै हातमा एउटा एउटा डिजिटल क्यामेरा छ । सानो झोला पनि । गाउँमा बुढाबुढी देख्ने बित्तिकै भन्छन् ‘नमस्टे’ । गाउँका केटाकेटी नौलो मान्छे हेर्नका लागि धुईरो लागिसकेका हुन्छन् । गोरा मान्छेसँगै केही नेपाली कामदार पनि छन् । उनीहरू गाडीबाट टेण्ट निकाल्छन् र बारीको पाटामा गाड्छन् ठाउँ ठाउँमा । लगभग एक घण्टाको अवधिमा टेण्टको घर बन्छ, मान्छे पिच्छेका छुट्टाछुट्टै ।

बारीको पाटामा यसरी टेण्ट गाडेर मान्छे पिच्छेको घर बनेको यही नै पहिलोपटक होइन । केही वर्ष भयो । हरेक दसैमा उनका घरमा गोरा छाला भएका केही मान्छे आउँछन् र यसैगरी बारीको पाटामा बस्छन् । भोलि वा पर्सीपल्ट आफू घुम्ने रुटमा निस्कन्छन् । घरभरि टाढा देशका नौलो मान्छे ल्याएकै कारण समाजमा उनको विशेष पहिचान छ । ‘एकै वर्षमा एक करोड कमाउछ रे’ उनका बारेमा मान्छेहरू कुरा गर्छन् । यो सबै गाडी उसकै हो रे । अरू चारवटा ठूलो बस छ रे ।’ गोरा मान्छेलाई गाउँमा ल्याउनेको प्रसंशा गरेर थाक्दैनन् गाउँलेहरू । ‘एउटा खैरे बिरामी भो भने पाँच लाख कमाई हुन्छ रे ।’ मान्छे बिरामी हुँदा हुने आम्दानीबारे समेत खबर पाइसकेका छन् । ‘छोरो हुनु त ऊ जस्तो पो’ थोरै कमाई गर्ने आफ्नै छोराछोरीलाई गाली गर्नेहरू पनि छन् ।

ध्रुव लम्साल

नेपालीहरूको ठूलो चाड दसैं, तिहार र पर्यटक घुम्ने सिजन लगभग एउटै याममा पर्छ । त्यसकारण कतिपय पर्यटन व्यवसायी (ट्रेकिङ एजेन्सी सञ्चालक)ले आफूसँगै नेपाल घुम्न आएका पर्यटकलाई पनि आफ्नै घर लैजाने गरेका छन् । विदेशी पर्यटकलाई आफ्नै आँगनमा लैजादा आम्दानी मात्रै हुँदैन, सामाजिक हैसियत पनि बढ्छ । गजेडी नै किन नहोस् । गोरो छाला भएकालाई सम्मान गर्ने हाम्रो पुरानो संस्कार हो भने गोरो छाला भएकाहरूसँग संगत गर्नेहरू पनि समाजमा सम्मानित व्यक्तिका रूपमा चित्रित हुँदै गएका छन् ।

गोरो छाला भएकाहरूको संगत गर्नेमध्ये कतिपयले ‘फेक रेस्क्यु’ मार्फत कालो काम गरेको विषय ढिलै किन नहोस् बहसको विषय बनेको छ । ‘फेक रेस्क्यु’कै कारण नेपालको बद्नाम भएको महसुस गरेको सरकारले ‘फेक रेस्क्यु’मा संलग्नलाई कार्वाहीको दायरामा ल्याउने योजना पनि सार्वजनिक गरेको छ । तर, सरकारले योजना बनायो भन्दैमा गलत काममा संलग्नहरू कार्वाहीको दायरामा आइहाल्छन् भन्ने निश्चित छैन । किनकि विगतमा पनि सरकारले गलत काम गर्नेलाई कार्वाही गर्छु भन्दै नगरेको धेरै उदाहरण छ ।

गोरा छाला भएका मान्छेको संगत धेरै नेपालीका लागि भविष्य उजिल्याउने आधार मात्रै होइन, समाजमै सम्मानि हुने अवसर भएको छ । गोरा छाला हुनेहरूको संगत गर्नेहरू प्रायले छोटो समयमै धेरै पैसा कमाउने हैसियत राख्छन् र हाम्रो सामाजिक मनोविज्ञान नै यति खराब भइसक्यो धेरै पैसा कमाउनेहरूलाई कसरी कमाइस् भनेर कहिल्यै प्रश्न गर्दैन । जसरी कमाए पनि कमाएर ठीक गरिस् भन्दै सम्मान गर्छ । त्यही कारण पैसा कमाउने मेसोमा पसेपछि खराब काम गर्न पनि पछि पर्दैन कतिपय व्यक्ति ।

कसरी सुरु भयो फेक रेस्क्यु ?
फेक रेस्क्यु योजनाबद्ध रुपमा सुरु भएको होइन । टे«किङ एजेन्सीले पर्यटकलाई घुमाउने क्रममा ‘फेक रेस्क्यु’ जन्मिएको हो । पहाडी एवं हिमाली भेगमा हिँडडुल गर्न मन पराउने विदेशी पर्यटकले नेपाली टे«किङ एजेन्सीमार्फत आफूले चाहेको स्थानमा घुम्न पाउँछन् । निश्चित शुल्क तिरेपछि गाईड, भरियासहित ती पर्यटक निश्चित दिनका लागि आफूले चाहेको ठाउँमा घुम्न पाउँछन् ।

त्यसरी घुम्ने क्रममा कतिपय पर्यटक बिरामी हुन्छन् । लेक लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, दुर्घटनामा पर्ने वा कुनै पनि स्वास्थ्यसम्बन्धी समस्या पर्न सक्छ, त्यसरी घुम्न जानेहरूमा । त्यसरी घुम्न जानेहरूमध्ये बिरामी परेको जानकारी पाउने बित्तिकै तिनलाई उद्धार गरेर उपचार गराउनु टे«किङ एजेन्सीको दायित्वअन्तर्गत पर्छ । त्यसरी घुम्न आउने पर्यटकहरूले आफ्नै मुलुकमा विमा गरेर आउने हुँदा कोही बिरामी हुँदा व्यक्तिलाई आर्थिक भार पर्दैन, उपचारमा लागेको सम्पूर्ण खर्च सम्बन्धित विमा कम्पनीले बेहोर्छ ।

घुम्ने क्रममा ‘रियल’मै बिरामी परेकाहरूलाई टे«किङ एजेन्सीले अस्पताल पु¥याएर उपचार गरेबापत ती अस्पतालले ट्रेकिङ एजेन्सीलाई आफ्नो अस्पतालमा बिरामी ल्याईदिएबापत कमिशन दिन थाले । पछिल्ला दिनमा बिरामी परेकालाई हेलिकोप्टरमार्फत् उद्धार गर्ने प्रचलन छ । अस्पतालवाट सुरु गएको कमिशन टक्रयाउने काम हेलिकोप्टरवालाले पनि सुरु गरे ।

विदेशी पर्यटकलाई आफ्नै आँगनमा लैजादा आम्दानी मात्रै हुँदैन, सामाजिक हैसियत पनि बढ्छ । गजेडी नै किन नहोस् । गोरो छाला भएकालाई सम्मान गर्ने हाम्रो पुरानो संस्कार हो भने गोरो छाला भएकाहरूसँग संगत गर्नेहरू पनि समाजमा सम्मानित व्यक्तिका रूपमा चित्रित हुँदै गएका छन् ।

हुँदाहुँदा अहिले त बिरामी पर्यटक ट्रेकिङ व्यवसायका लागि आम्दानीको अर्को आकर्षक स्रोत बन्न थाले । ‘विदेशी पाहुनाको स्वागत गर्छौं’ भनेर व्यवसाय सुरु गरेका केही व्यवसायीले यतिसम्म गरे कि पर्यटकलाई गन्तव्य पुग्नु अगाडि नै बिरामी बनाउन थाले । एकजना पर्यटक बिरामी हुनु भनेको एउटा ट्रेकिङ एजेन्सीका लागि अहिलेको अवस्थामा हेलिकोप्टर अस्पतालले दिने कमिशनबाट कम्तिमा ३ लाख अतिरिक्त आम्दानी हुन्छ ।

पर्यटकलाई बिरामी बनाएर नेपाली व्यवसायीले अतिरिक्त असुल उपर गर्दै आएको विषय सुरुमा ठमेलका सिमित व्यवसायीमा मात्रै सीमित थियो । एक कान दुई कान मैदान भने झै ‘फेक रेस्क्यु’ ठमेलभित्रकै संस्कार जस्तो हुन पुग्यो । ‘फेक रेस्क्यु’ बारे प्रशासनलाई समेत जानकारी नभएको होइन । सम्बन्धी निकायकाले समेत फेक रेस्क्युबाटै प्राप्त आम्दानीले दसैं तिहार, छोराछोरीको बोर्र्डिङ स्कुलको खर्च धान्दै आए । जब केही विदेशी मिडियामा नेपालमा ‘फेक रेस्क्यु’ बारे समाचार सार्वजनिक हुन थाले नेपाल सरकार झसंग हुँदै कार्वाही गर्छु भन्ने अवस्थामा पुग्यो ।

सम्भव छ कारबाही ?
पर्यटनमन्त्री रविन्द्र अधिकारी गलत कार्यमा संलग्नलाई कार्वाहीको दायरामा ल्याएर पर्यटकको संख्या बढाउने योजनामा छन् । तर, मन्त्री अधिकारीले भने जस्तै कार्वाही त्यति सहज भने छैन । माथि नै उल्लेख गरिसकेँ । हाम्रो सामाजिक संस्कार नै यति खराब भइसक्यो जतिसुकै तल्लोस्तरको काम किन नगरोस् यदि उसँग पैसा छ भने जघन्य अपराधबाट पनि मुक्ति पाउँछन् । भ्रष्टाचारलगायतमा संलग्नहरूले सफाई पाएका विगतका कतिपय घटनालाई हेर्दा स्पष्ट हुन्छ । जहाँसम्म ‘फेक रेस्क्यु’ वालालाई कार्वाहीको प्रसंग छ । सहजै कार्वाही सम्भवै छैन ।
अति राजनीतिकरण नेपाली समाजको पछिल्लो थिति हो । आफ्ना हकहितका लागि स्थापित सामान्य संस्थाको निर्वाचनमा पनि कुनै पनि व्यक्तिले योग्यता क्षमता भएकै कारण उम्मेदवार हुन पाउँदैन । ऊ कुनै न कुनै दलमा आबद्ध हुनैपर्छ । दलीय प्रभावबाट ठमेल मुक्त हुने कुरै भएन । कांग्रेस, नेकपा, राप्रपालगायतका पार्टीका प्रतिनिधि हरेक संस्थामा छन् ।

मानौ ‘फेक रेक्क्यु’वाला व्यक्तिलाई सरकारले कार्वाही ग¥यो । यदि ऊ वामगठबन्धनसँग नजिक रहेछ भने सरकारअन्तर्गतकै विभिन्न व्यक्तिहरू उसलाई कार्वाहीमुक्त गराउने अभियानमा लाग्छन् । गैरवाम (कांग्रेस, राप्रपा वा अरू कुनै पार्टीमा आबद्ध रहेछ भने सरकारबाहिर भएका पार्टीले विज्ञप्ती निकाल्दै भन्ने छन् ‘पर्यटन क्षेत्रमा पनि अधिनायकवाद आयो ।’

यो सब हुनुको कारण गलत काम गर्नेलाई कार्वाही र राम्रो काम गर्नेलाई पुरस्कार दिने संस्कार कहिल्यै बसेन । ‘मन नपरेको मान्छेको काखी गन्हाउने’ संस्कारकै कारण पर्यटन मात्रै हैन हरेक क्षेत्र अस्तव्यस्त बन्दै गएको छ भने सम्बन्धित क्षेत्रलाई बद्नाम गराउनेहरू समाजमा लब्ध प्रतिष्ठितको तहमा छन् । सरकारले वास्तवमै ठमेल क्षेत्रलाई शुद्धीकरण गर्दै पर्यटन वृद्धि गर्ने हो भने दलीय चश्मालाई फयाँकेर सम्पत्ति छानवीनबाट सुरु गर्नुपर्छ । अन्यथा नेपाल आउने पर्यटक आई नै रहन्छन्, बेला बेलामा बिरामी पर्छन् । व्यवसायीहरू रेस्क्यु गरि नै रहन्छन् । दलका नेतालाई अड्को पड्को परेको बेला गच्छेअनुसार तिनै व्यापारीले आर्थिक सहयोग गरिरहन्छन् ।

–राजधानी दैनिकबाट

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार १०:५०