बागमतीमा एमालेबाट राष्ट्रियसभामा उम्मेदवार रहेका शाक्य र कुँवर को हुन ?
९ माघ, काठमाडौँ । राष्ट्रियसभाको निर्वाचनमा बामगती प्रदेशमा एमालेका तर्फबाट ललितपुरका गोपाल शाक्य र सिन्धुलीकी निरकुमारी कुँवर (निरू दर्लामी)ले प्रतिस्पर्धा गर्दैछन । लामो राजनीतिक इतिहास बनाएका उनीहरू पाँच दलीय गठबन्धनको विरूद्धमा उभिएका प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवार हुन ।
शाक्य यसअघि राष्ट्रियसभा सदस्य भैसकेका नेता हुन भने पूर्व युवा तथा खेलकुद मन्त्री पनि हुन । २०२८ सालदेखि कम्युनिस्ट आन्दोलनमन लागेका शाक्य २०३३ सालको नख्खु जेल ब्रेकमा सहभागी नेता हुन । उनी कोअर्डिनेशन केन्द्रको संस्थापक मध्येका एक नेता हुन ।
२०४९ सालमा राष्ट्रियसभाको सदस्य पनि हुन शाक्य । उनी मालेका संस्थापक पनि हुन । लामो राजनीतिक पृष्ठभूमि भएका शाक्य तुलसीलाल स्मृति प्रतिष्ठानको अध्यक्ष समेत हुन । शाक्य राष्ट्रियसभामा आफू विजयी हुनेमा विश्वस्त रहेका छन । दैनिकीसँग कुरा गर्दै उनले एमालेको जनमत केही तलमाथि भएको भए पनि सूर्य चिन्हबाट विजयी भएका जनप्रतिनिधि मतदाताले अन्तिमसम्ममा विवेकको प्रयोग गर्ने बताए। उनले आफू राष्ट्रियसभामा विजयी भए सभाको गरिमा बढाउने गरी काम गर्ने बताए ।

त्यस्तै कुँवर पनि लामो राजनीतिक इतिहास भएकी नेतृ हुन । उनी माओवादीको नाममा भूमिगत राजनीतिमा सक्रिय हुँदै सबै तहका कमिटीमा नेतृत्वमा रहेर पोलिटब्यूरो सदस्य समेत भएकी थिइन । एकता प्रकियाका माध्यममा एमालेमा रहेकी उनी दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन ।
२०६४ सालमा माओवादीभित्रकै अनेक षडयन्त्रका बाबजुद सिन्धुलीबाट प्रत्यक्ष निर्वाचित भएकी संविधानसभा सदस्य हुन । उनीले जनयुद्धमा एक छोरा र श्रीमान गुमाएकी थिइन । सहिद परिवारको सदस्य कुँवर स्पष्ट व्यक्ताको रूपमा चिनिन्छिन । कुँवर पनि राष्ट्रियसभामा विजयी हुनेमा विश्वस्त छिन ।
मतदाता रहेका जनप्रतिनिधिलाइ म्यसेज गरेर आफ्नो उम्मेदवारीको बारेमा जानकारी दिएको बताउने कुँवर २०६४ सालमा माओवादीभित्रै षडयन्त्र हुँदासमेत निर्वाचनमा विजयी भएको उदाहरणदिँदै उनले सबैले सहयोग गर्ने वचन दिएकोले आफू विजयी हुनेमा विश्वस्त छिन ।
प्रकाशित मिति : January 23, 2022 at 9:22 pm









