सिन्धुपाल्चोकका एमाले कार्यकर्ताको तर्फबाट शेरबहादुर तामाङलाई खुल्लपत्र
८ माघ, काठमाडाैँ । नेकप एमाले सिन्धुपाल्चोको जिल्ला अधिवेशन उद्घाटन भए पनि नेतृत्व चयन नभइ बन्दसत्र समेत स्थगित गरेर छाडेपछि नेता कार्यकर्ताले विभिन्न प्रश्नहरू उठाइरहेका छन । समस्या एक व्यक्तिमात्र नभए पनि तत्कालका लागि अध्यक्ष मण्डलका अध्यक्ष र पार्टीका जिल्ला इन्चार्जसँग धेरैले प्रश्न उठाएका देखिन्छन । दैनिकीको इमेलमा प्राप्त एमाले कार्यकर्ताहरूको पत्र हामीले यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरेका छाैँ ।-सम्पादक
कमरेड अभिवादन !
नेकपा एमालेको केन्द्रीय सर्कुलर अनुसार पुस २३ गते देशैभरि अधिवेशन गर्ने निर्णय गर्यो, हिमाली जिल्ला बाहेक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यलयबाट भर्चुअल माध्यमको भरपुर सदुपयोग गर्दै ६१ जिल्लाको अधिवेशन उद्घाटन गर्नुभयो। यो बारेमा कमरेड अनविज्ञ हुनुहुन्न।
इन्चार्ज कमरेड,
हामीहरू अत्यन्तै उत्साहित थियौं, किनभने सिन्धुपाल्चोकमा ९ वर्षपछि अधिवेशन हुँदै थियो । युवाहरूमा छुट्टै जोश थियो । कार्यकर्ताहरू अधिवेशन सफल पार्न तल्लिन थिए । उद्घाटनमा उपस्थितिको लागि व्यापक अनुरोध र प्रचार-प्रसार खासै नगरे पनि स्वतस्फूर्त हजारौँको संख्यामा कर्याकर्ता र शुभेच्छुक बाह्रबिसे नगरपालिकाको सभाहल भित्र र बाहुत खचाखच रुपमा उपस्थित भएका थिए।
हाम्रो आदरणीय नेता क. अमृतकुमार बोहरा लगायतको उपस्थितिमा सिपामा पनि उद्घाटन सत्र सम्पन्न भयो । कार्यक्रम सभ्य अनि भब्य रुपमा सप्पन्न भयो। त्यसको लागि जिल्ला आयोजक कमिटीलाई धन्यवाद दिनैपर्छ।
इन्चार्ज कमरेड,
हामी १५ हजार संगठित सदस्य नै प्रतिनिधि भएकोले बन्दसत्र सुचारु हुनेमा हामी ढुक्क थियौँ । त्यो सुरु पनि भयो, जिल्ला अध्यक्षले राजनीतिक र सांगठनिक प्रस्ताव र कमरेड कृष्णगोपाल तामाङले आर्थिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यो प्रतिवेदन हलले पारित गर्यो । भलै प्रतिवेदन कार्यकर्ताहरु अध्ययन गर्न नपाए पनि ।
अध्यक्ष मण्डल जिल्ला कमिटी बैठकले पहिले नै प्रस्ताव गरिसकेको थियो । तपाईं कमरेड शेरबहादुर तामाङको अध्यक्षतामा कमरेडहरु अरुण नेपाल, सरेश नेपाल, डम्बरबहादुर अर्याल, क. देबि अधिकारी, क. माधब पाण्डे । उक्त प्रस्ताव हलबाट सर्बसम्मत रुपमा प्रतिनिधिहरुले पारित गरे।
इन्चार्ज कमरेड,
अब मुख्य समस्या सुरुभयो । हप्ता दिने कार्ययोजना सार्वजनिक भयो । जब अध्यक्ष मण्डलको अध्यक्षले फर्मान जारी गर्नुभो, तपाईंहरु नेतृत्वमा आउन चाहनेले पुस २९ गते जिल्ला सदरमुकाम चौतारा पार्टी कार्यालयमा नोमिनेसन गर्न आउनुस ।तपाईहरु केहि निर्वाचित भएर आउनु पर्ने छ भने केहीलाई यो कालो कोटको खल्तीबाट नेतृत्वमा ल्याउने छु भन्नुभएको थियो । खोइ त त्यो निर्वाचनका माध्यमबाट पनि नेतृत्व आउन सकेन ! तपाईको खल्तीबाट पनि आउन सकेन त !
नेकपा (एमाले) को इतिहासमा अहिलेसम्मकै इन्चार्ज हुनेहरूले आफ्नो जिम्मेवार कुशलता पूर्वक बहन गर्नुभएको थियो । यसको साक्षी तपाईं आफै हुनुहुन्छ । तर तपाईं निकम्मा साबित हुनुभयो। किनभने,
👉️ अध्यक्ष मण्डलको बैठक कति पटक राख्नुभयो ? अध्यक्ष मण्डलका एक सदस्यका अनुसार अहिलेसम्म तपाईंले अध्यक्ष मण्डलको सदस्यहरुसंग एक पटक पनि छ्लफल गर्नुभएको छैन ।
👉️ निवर्तमान नेतृत्वसँग पनि छलफल त परै जाओस नेताहरुको फोन पनि उठाउनु हुन्न ?
👉️ मिडिया खपतको लागि चिला-मिठा कुरा गरेर मात्र हुन्छ र ? ब्यबहार चै ठ्याक्कै उल्टो गरेपछि।
👉️ सिपा एमाले नेतृत्व विहिन भएर नै चल्ने हो ? यसरी कहिलेसम्म चल्छ ?
इन्चार्ज कमरेड ,
तपाइको कहिले फुर्सद हुन्छ जिल्ला नेतृत्व छान्ने ? उद्घाटन भएको सबै जिल्लाहरु ले नेतृत्व पाईसके। ती जिल्लामा पार्टीको कमिटीहरु गतिशील भैइसके। हामी ले कहिले पाउने हो जिल्ला नेतृत्व ? तपाईंलाई अरु प्रति बिश्वास छैन भने एकपटक जिल्ला नेतृत्व गर्ने कि ? होइन भने किन अकर्मण्यता ? हलो अड्काएर गोरु चुट्ने कहिलेसम्म ?
पार्टीलाई दोबाटोमा ल्याएर छोड्नु भएको छ। जाने निश्चित गन्तव्य देखाउनु पर्यो। होईन भने मैले सकिन भनेर हात उठाउनुस, केन्द्रले अरु कोहि कमरेडलाई जिम्मेवार दिएर पठाउछ। केन्द्रमा चाकरी गरेर बस्नुको सट्टा सिपाको जिल्ला कमिटी टुङ्याउन लाग्नुस। चाकरी त तपाइको पेशा नै हो, त्यो काम सकेर पुन: चाकरीमा लागे हुन्छ।
अन्त्यमा,
इन्चार्ज कमरेड !
जता काफल पाक्यो उतै चरी नाच्ने बानी छोड्नुस अब। हुन त इतिहासको कुरा के गर्नु! तैपनि गर्नै पर्यो -:
👉️२०५४ मा पार्टी विभाजन हुँदा माले तिर लाग्नु भयो। अहिलेसम्म एमालेको मुलधार नछोडेका इमानका पर्यायवाची कमरेड अमृतकुमार बोहराले ५०० भन्दा कम मतले निर्वाचनमा पराजय भोग्नुपर्यो । तपाईंले मुस्किलले ११०० जति मत ल्यानुभयो। जनमत चै जफत भयो।
👉️ २०७७ पुस ५ गतेपछि नेकपा अनौपचारिक रुपमा विभाजन हुँदा कहिले केपी ओली तिर त कहिले दाहाल-नेपाल तिर लाग्नुभएको हैन् र? आफ्नो र श्रीमतीको मन्त्री पद पक्का गरेपछि पुनः केपी ओली तिरै लाग्नु भएको हैन र?
कमरेड अझै समय छ। यस्तो कामहरु गर्न छोड्नुस।
भवदीय
सिन्धुपाल्चोकका १५ हजार कार्यकताहरूको तर्फबाट हार्दिक अभिवादन सहित।
प्रकाशित मिति : January 22, 2022 at 9:21 pm









