२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

एमाले नुवाकोटको साताैँ अधिवेशनबाट निर्वाचित कमिटीले काम सुरू गर्यो

२८ पुस, नुवाकोट । नेकपा एमालेको सातौँ अधिवेशनबाट निर्वाचित भएको जिल्ला कमिटीले आफ्नो काम सुरू गरेको छ । सहमतिमा नेतृत्व चयन गरेको जिल्ला कमिटीले मंगलबार सपथग्रहणसँगै बसेको पहिलो जिल्ला कमिटी बैठकबाट एक सय भन्दा बढी सदस्य मनोनयन गरेको छ ।

सपथ ग्रहणपछि सम्बोधन गर्दै नव निर्वाचित अध्यक्ष बद्री मैनालीले वरिष्ठ उपाध्यक्ष र महाचसिवसँगको परामर्शमा जिल्ला कमिटीमा मनोनयन गरिएको जानकारी दिँदै कार्यकर्ताको भावनाको सम्बोधन गर्दा कमिटी केही जम्बो भएको बताए । उनले अब चुनाव केन्द्रीत गरेर पार्टीका गतिबिधि सञ्चालन गरिने जानकारी पनि दिए । अध्यक्ष मैनालीले तीनै तहको निर्वाचनमा नुवाकोटमा एमालेलाई पहिलो शक्ति बनाउने उद्घोषसहित पार्टी प्रवेशका कार्यक्रमहरू सञ्चालन गरिने बताए ।

सो अवसरमा बोल्दै नेकपा एमाले नुवाकोटको सातौँ जिल्ला अधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष एवं एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष केशव राज पाण्डेले सहमतिमा नेतृत्व चयनका निम्ति सहयोग गरेकामा निवर्तमान कमिटी र अध्यक्ष नारायणप्रसाद खतिवडालाई धन्यवाद दिए ।

त्यस्तै सपथ ग्रहण समारोहका प्रमुख अतिथि एमालेको पूर्व पोलिटब्यूरो सदस्य महेन्द्रबहादुर पाण्डेले सम्पूर्ण पार्टी कार्यकर्ता इमान्दार र अनुशासित भएर पार्टी काम लागे अपेक्षिता नतिजा हातपार्न सकिने बताए । सो समारोहमा केन्द्रीय सदस्य एवं नुवाकोट इन्चार्ज विन्दा ढुंगाना र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना लगायत पनि उपस्थित रहेकी थिइन ।

पार्टीका कतिपय नेताहरूले भने सहमतिको नाममा कमिटी घोषणा गर्नेदेखि मनोनयन गर्ने प्रक्रिया र मनोनित गर्ने संख्याका विषयमा असन्तुष्टि व्यक्त गरेका छन । प्रतिस्पर्धामा श्रेष्ठता हाँसिल गर्ने जनताको बहुदलीय जनवादको मान्यता बोकेर प्रतिस्पर्धा गर्न नदिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन ।

कतिपय गाउँ र नगरकमिटीका अध्यक्षहरूले भने जिल्ला कमिटीमा सहमतिको नाम प्रस्ताव गर्दा अध्यक्ष मण्डलले आफूहरूसँग समन्वय नगरेको भन्दै दुखेसो पनि गरेका छन ।  जिल्ला कमिटीमा सदस्यहरू मनोनित भएसँगै नपर्नेहरूले पनि थप असन्तुष्टि व्यक्त गरिरहेका छन ।

प्रकाशित मिति : January 12, 2022 at 8:37 am