६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

चिनियाँ राष्ट्रपति सी यही मार्चमा नेपाल आउँदै, भ्रमणको अान्तरिक तयारी तीव्र


–पवित्रा मुडभरी

१९ फागुन, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले यही मार्चको अन्तिममा नेपाल भ्रमण गर्ने भएका छन । यही मार्चमा सी विदेश भ्रमणमा निस्कदै छन । सीको विदेश भ्रमणको चिनियाँ विदेश मन्त्रालयले विगत तीन महिनादेखि तयारी गरिरहेको छ ।

यसअघि गत पुस ४ गते मंगलबार सी नेपाल आउने सूचना सार्वजनिक भएकै केही घण्टामै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका शीर्ष नेतासहित रसुवागढी नाकाको भ्रमणमा गएका थिए । त्यतिखेर सीको नेपाल भ्रमणसँग ओलीको निरीक्षणलाई जोडेर समेत हेरिएको थियो ।

यसअघि सन २०१७ को मार्चमा सी आउने करिव निश्चित भए पनि राजनीतिक संक्रमणलाई कारण देखाउँदै उनी नेपाल आएनन् । केपी ओली नेतृत्वको सरकारकै समयमा सी नेपाल आउन चाहेको भए पनि माओवादीले कांग्रेससँग घाँटी जोडेर ओली सरकार ढालेपछि चिनियाँ विदेशमन्त्रालयले सीको नेपाल भ्रमण रोकेको थियो ।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालमा वामपन्थी सरकार बनेकाले राष्ट्रपति सी नेपाल भ्रमणमा आउन इच्छुक देखिएका छन । नेपालको राजनीतिक स्थिरतामा जोड दिँदै आएको चीनले उसले भनेको जस्तो स्थायी सरकार बनेपछि नेपालको विकासका लागि ठूलो लगानीको घोषणा गर्दैछ ।

राष्ट्रपति सीले दक्षिण एसियाका अधिकांश देश (श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान र भारत)को भ्रमण गरिसकेका बेला नजिकको छिमेकी देश नेपाल आएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक राष्ट्रपति सीलाई नेपाल भ्रमण गराएर आफ्नो प्रयास सफल पार्ने भएका छन् । ओलीले भ्रमणबारे चिनियाँ राजदूतसँग पनि चासो राखेको र छिट्टै भ्रमण हुने तथापी मिति भने निश्चित नभएको ओलीको सचिवालयले जनाएको छ ।

सीको भ्रमाणलाई सफल तुल्याउनका निम्ति दुई देशका उच्च अधिकारी र राजनीतिक तहमा समेत अनौपचारिक छलफल बढेको छ ।

 

विमानस्थलमा चिनियाँ निगरानी
राष्ट्रपति सीको नेपाल भ्रमण हुने भएपछि चिनियाँ दूतावासका अधिकारीले अहिले हरेक तीन दिनमा गएर त्रिभुवन विमानस्थलको सुरक्षाको निरीक्षण गरिरहेका छन । उनीहरुले विमानस्थलको सबै अवस्थाका बारेमा पूर्ण जानकारी लिइरहेको विमानस्थलमा खटिएका एक प्रहरी अधिकारीले बताएका छन ।

सीको भ्रमणलाई सुरक्षाको कारण देखाउँदै दूतावासले तयारीको बारेमा औपचारिक जानकारी भने दिएको छैन । कतिपयले राष्ट्रपतिको भ्रमण अघि चिनियाँ प्रधानमन्त्रीको भ्रमण हुनसक्ने अनुमान समेत गरेका छन ।

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार १९:०८