११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

एसएलसी नै पास नगरी प्रधानन्यायाधीश हुने दिन गए, यी हुन जोशी अस्वीकारका ६ कारण

१८ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई अस्वीकृत गरेको छ । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गरेपछि दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत भएको हो । जोशीको पक्षमा एक भोट पनि खसेन । जाेशीलार्इ छ वटा स्पष्टकारण सहित समितिले अस्वीकार गर्ने निर्णय गरेको समितिका सदस्य योगेश भट्टरार्इले बताए ।

अस्वीकृत गरिनुका कारणहरु:
१. प्रधानन्यायाधीको पदमा रहेर न्यायलयको नेतृत्व गर्ने सम्बन्धमा ठोस कार्ययोजना प्रस्तुत गर्न नसकेको।

२. आम नागरिकबाट सार्वजनिक रुपमा उठेका र समितिका सदस्यहरुले उनको आचरण, इमान्दारिता र कार्यक्षमताका सम्बन्धमा उठाइएका प्रश्नहरुको सन्तोषजनक उत्तर दिन नसकेको।

३. शैक्षिक प्रमाणपत्रहरु सन्देहात्मक रहनुका साथै जन्ममिति समेत फरकफरक उल्लेख रहेको विवादित सन्दर्भमा यथेष्ट प्रमाण पेश गर्न र सन्तोषजनक उत्तर दिन नसकेको।
४. सार्वजनिक आचरण, व्यवहार र विगतको काम कारवाहीको सम्बन्धमा न्यायाधीशहरुबाट नै लिखित रुपमा टिप्पणी गरेको पाइएको।

५. सर्वोच्च अदालतमा रही कामकारवाही गर्दा नेपालको न्याय प्रणालीलाई योगदान दिएको दृष्टान्त दिन सकिने काम गर्न नसकेको।

६. निजको कामबाट नेपालको न्यायालय, सक्षम, स्वच्छ र विकृति बिहीन हुन्छ भन्ने विषयमा यस समितिका सदस्यहरु सन्तुष्ट हुन नसकेको।

प्रकाशित मिति : 15:10