एमालेले प्रदेश र जिल्ला अधिवेशनका लागि तोक्यो ९ बुँदे मापदण्ड (सूचिसहित)
११ पुस, काठमाडाैँ । नेकपा (एमाले)ले प्रदेश र जिल्ला अधिवेशनका लागि ९ बुँदे मापदण्ड तोकेको छ । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अपानि १ मा प्रदेश र जिल्ला अधिवेशन एकै दिनलाई तोक्दै अधिवेशनका लागि ९ बुँदे मापदण्ड राखिएको हो ।
एमालेले देशभर एकै दिन अधिवेशन गर्ने गरी पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेशको अधिवेशन गर्ने मिति तोकेको छ । सोही अनुसार अधिवेशनका लागि जारी गरिएको मापदण्डको पहिलो बुँदामा भनिएको छ, जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउने ।

यस्तो छ मापदण्ड
-जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएकोपार्टी सदस्यतालाई नै आधार बनाउने ।
-अधिवेशनको लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्था अनुसार सम्बन्धित कमिटीले तय गर्ने ।
-जिल्ला अध्यक्षहरू माथिल्लो कमिटीमा निर्वाचित भएको हालको अवस्थामा निजकैअध्यक्षतामा जिल्ला अधिवेशन आयोजना गर्न सकिने ।
-मौसमी प्रतिकूलताका कारणलेपुस २३ मा जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने ।
-जिल्ला अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण प्रदेश संगठन कमिटीले र प्रदेश अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण केन्द्रीय कार्यालयले गर्ने ।
-अधिवेशनमा प्रतिनिधिहरूलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने ।
-सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्ने ।
-निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशन अनुसार गर्ने ।
-अधिवेशन सम्पन्न भएको एक हप्ताभित्र निर्वाचित पदाधिकारीको नामावली सहितको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउने ।
प्रकाशित मिति : December 26, 2021 at 10:43 am









