कांग्रेसको चुनाव हारेपछि प्रमोदहरि गुरागाइले त्रिविको उपप्राध्यापकबाट राजिनामा दिए
११ पुस, काठमाडौँ । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा पारजित भएसँगै नुवाकोट स्थायी घरभएका त्रिभुवन विश्वविद्यालयका मानवशास्त्रका उपप्राध्यापक प्रमोदहरि गुरागाइले राजिनामा दिएका छन । काठमाडौँको ठमेलमा रहेको सरस्वती क्याम्पसमा मानवशास्त्र पढाउँदै आएका गुरागाइले क्याम्पस प्रमुख समक्ष राजिनामा दिएका हुन ।
उनले पुस ७ देखि लागू हुने गरी पुस ६ गते राजिनामा दिएको राजिनामापत्र सामाजिक सञ्जाल ट्वीटर मार्फत आफैँ सार्वजनिक गरेका छन । उनको राजिनामापत्रमा क्याम्पस प्रमुखले तोक लगाउँदै स्वीकृतिका लागि त्रिविमा सिफारिस गर्न आदेश दिएका छन ।
गुरागाइ कांग्रेसको १४ औँ महाधिवेशनमा खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । यद्यपी उनी चुनावमा पराजित भए । उनले अब चुनावमा मतबाट पराजित भए पनि मनको सम्मान गर्दै राजनीति र समाजसेवामा लाग्ने उल्लेख गरेका छन ।
यही बीचमा त्रिविले शिक्षक र कर्मचारीलाई राजनीतिक पार्टीका विभिन्न तहमा रहने र चुनावमा सहभागिता नजनाउन भन्दै सार्वजनिक सूचना प्रकाशन गरेको छ । त्यसपछि दैनिकी डट कमले त्रिविका शिक्षक र कर्मचारी राजनीतिक पार्टीको नेतृत्वमा खुलेर लागेको विषयको समाचार प्रकाशति गरेको थियो ।
प्रकाशित मिति : ११ पुष २०७८, आईतवार १३:२९