एमसीसीका कारण गठबन्धन टुट्दैन : प्रचण्ड
८ पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का कारण गठबन्धन नटुट्ने बताएका छन् ।
उनले न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा एमसीसी तत्काल पारित नभए पनि गठबन्धन नटुट्ने बताएका हुन् । प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमसीसी सम्झौतामा केही सुधार गर्नुपर्ने पक्षमा रहेकाले केही समय लिए पनि एमसीसीकै कारणले गठबन्धन नटुट्ने बताएका छन् ।
उनले प्रधानमन्त्रीसँग एमसीसीका विषयमा विज्ञहरुसँग छलफल गर्ने विषयमा कुराकानी भएको तर माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनपछि छलफल गर्ने सहमति भएको बताए ।

एमसीसी सम्झौताको आधिकारिक दस्तावेजमा संसदबाट अनुमोदन हुने विषय नभएको तर पछि समावेश गरिएको भन्दै प्रचण्डले यसैका कारण आशंका उत्पन्न भएको बताए । ‘यो विषयमा जहाँनिर त्रुटि भएको छ, जुन जुन प्रावधानले हामीलाई अप्ठेरो पारेको छ, जरुरी पर्दा त्यसलाई संशोधन पनि गर्नुपर्यो, गम्भीर र संवेदनशील विषय भएका कारण राजनीतिक दलहरुबीच अधिकतम सहमति गर्नुपर्यो’ प्रचण्डले भने । प्रचण्डले विवादका विषय अध्ययन गर्न गठित कार्यदलले काम गरिरहेको बताए ।
प्रकाशित मिति : December 23, 2021 at 3:23 pm









