७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

एमालेले संसद् बन्धक बनाएर धुन्धुकारी प्रवृत्ति देखायाे : नेता खनाल

७ पुष, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जनप्रतिनिधिमूलक संस्था संसद् बन्धक बनाएर प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले धुन्धुकारी प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् । संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री खनालले एमाले धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त रहेको आरोप लगाए ।

“संसद् जनता र राष्ट्रका आवाज तथा जनताका विभिन्न समस्याहरू उठाउने, जनताका ढुकढुकी प्रतिविम्बित गर्ने, राष्ट्रका अत्यन्त महत्वपूर्ण नीति, कार्यक्रम, ऐन, कानुन तथा सङ्कल्पहरू निर्माण गर्ने थलो हो तर यो थलोलाई नै बन्द गरेपछि, बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ ?”, उनले भने, “यो राष्ट्रलाई चल्न नदिने अराजकताको खाडलतर्फ लाने यो एकप्रकारको धुन्दकारी प्रवृत्ति हो । यो प्रवृत्तिबाट प्रतिपक्षी पार्टी ग्रस्त छ ।”

एमाले संसद्को मर्यादालाई समाप्त पार्ने ठाउँमा पुगेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्री खनालले एमाले तर्क, शक्ति, बौद्धिकता, मर्यादा र संवैधानिकता सकिएपछि बल प्रयोगमा लागेको बताए । “संसद् भनेको प्रतिपक्षको पनि हो, प्रतिपक्षले संसद्लाई कसरी प्रयोग भन्नेबारेमा बुद्धिमत्तापूर्वक प्रयोग गर्न सक्नुपर्छ”, उनले भने ।

प्रतिपक्षी एमालेले पुनःस्थापित संसद् बैठक अवरुद्ध पार्दै आएको छ । आफ्नो पार्टीले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले संसद्मा नाराबाजी गरी बैठकको कामकारबाही प्रभावित तुल्याउँदै आएको छ ।

प्रकाशित मिति : December 22, 2021 at 8:17 pm