२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमालेकाे जनसंगठनमा काम गरेका नेता अब बेरोजगार नहुने, अध्ययन गर्न कार्यदल गठन

७ पुस, काठमाडाैँ । नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रको पहिलो बैठकले जनसंगठनहरू प्रभावकारी बनाउनका लागि अध्ययन गर्न एउटा कार्यदल बनाउने निर्णय गरेको छ । बुधबार नेकपा एमालेको केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा भएको संयन्त्रको पहिलो बैठकले संयन्त्रका संयोजक भानुभक्त ढकालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलका सदस्यहरूमा रचना खड्का, गोकुल बाँस्कोटा, महेश बस्नेत, पार्वत गुरूङ, माधव ढुंगेल र विष्णु रिजाल रहेका छन ।

संयोजक ढकालका अनुसार कार्यदलले जनसंगठनका पदाधिकारी कति जना रहने ? जनसंगठनमा काम गर्नेहरूको पार्टीमा स्टाटस के हुने ? जनसंगठनबाट विदा भएकाहरू पार्टी काममा पुगेका छैनन भने कसरी पुर्याउने ? भन्ने विषयमा छलफल गरेर माेर्चा संयन्त्रको बैठकमा सुझाव पेश गर्नेछ । सोही सुझावका आधारमा फागुनसम्ममा जनसंगठनहरूले अधिवेशन र सम्मेलन सम्पन्न गर्नुपर्नेछ ।

संयन्त्रकाे बुधबारको बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव कमरेड शंकर पोखरेल, जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू उपस्थित रहेका थिए । बैठकले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णय अनुसार फागुन मसान्तभित्र सबै जनसंगठनका राष्ट्रिय अधिवेशन/सम्मेलन आयोजना गर्नका लागि आ-आफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : December 22, 2021 at 8:13 pm