२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता देखाएनन्ः महासचिव पोखरेल

२ पुस, काठमाडाैँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताएका छन् ।

महासचिव पोखरेलले नेता रावलले तत्परता देखाउने वित्तिकै पार्टीले आवश्यक छलफल गरेर उनलाई जिम्मेवारी दिने पनि स्पष्ट पारे । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा नेकपा एमाले केन्द्रिय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जिम्मेवारी लिनका लागि रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न सक्ने बताए ।

हाललाई उनि नीतिगत रुपमा पार्टीको केन्द्रिय सल्लाहकार परिषद सदस्य रहेका पनि महासचिव पोखरेलले जानकारी दिए । उनले पार्टीका नेताहरुको कार्य विभाजनमा पार्टी नेतृत्वले विभेद गरेको भन्ने कुरा सत्य नभएको दावी गरे । महासचिव पोखरेलले समक्ष नेताहरुको विशाल पंक्ति भएकाले जिम्मेवारी दिने कुरामा तलमाथि भएपनि पार्टीका नेताहरुको कार्य विभाजनमा कुनै पनि प्रकारणको विभेद नरहेको बताएका हुन् ।

 

पत्रकार सम्मेलनमा पार्टीको कार्यविभाजनमा विभेद भयो नि ? पनि सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए । त्यसको जवाफमा उनले आफ्नो पार्टीलाई नजिकबाट बुझ्नेहरुले यस्तो प्रश्ननै नगर्ने तर्क समेत गरे । एकसेएक नेताहरु भएको पार्टीमा सबैले समान प्रकारको जिम्मेवारी पाउने कुरा अपेक्षाकृत भएपनि त्यसलाई नै लिएर पूर्वमाओवादी वा दश बूँदे सहमती गरेर आएका नेताहरुको समूहलाई विभेद भयो भन्न नमिल्ने महासचिव पोखरेलको भनाई थियो ।

उनले भने, ‘भीम रावलजी केन्द्रिय कमिटीमा रहनु भएन । त्यसकरण उनको कार्य विभाजन केन्द्रिय कमिटीमा रहेन । हामीले गरेको नीतिगत निर्णयको सन्दर्भमा हेर्ने हो भने केन्द्रिय सल्लाहकार परिषदको सदस्यको जिम्मेवारी दिइएको छ । त्यो भन्दा बाहेकको जिम्मेवारीको सन्दर्भमा उनले पार्टी अध्यक्षसँग परामर्शमा थप जिम्मेवारी दिने कुरा रह्यो । उनले जिम्मेवारी बहन गर्न तत्परता देखाउनु भयो भने हामी छलफलका लागि तयार छौं ।

प्रकाशित मिति : December 17, 2021 at 4:38 pm