काँग्रेस अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्छः मन्त्री डा. रिजाल
२९ मंसिर, काठमाडाैँ । नेपाली काँग्रेसका नेता एवम् रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नयाँ नेतृत्वको काँग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोईरालाले आयोजना गरेको प्रतिनिधिहरुलाई धन्यवाद कार्यक्रममा बोल्दै मन्त्री रिजालले नयाँ नेतृत्वको काँग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले अब काँग्रेसको अनुहार कस्तो हुन्छ भन्ने महत्वपूर्ण हुने बताए । मन्त्री रिजालले डा. कोईरालाको टीमबाट काँग्रेसमा संख्यामा भाग नखोज्ने बरु विचारमा प्रतिनिधित्व हुनुपर्ने बताए ।

मन्त्री रिजालले भने, ‘आउने दिनमा काँग्रेस सञ्चालन गर्दा विचारको गहीरो र प्रष्ट रुपमा हुनुपर्छ । निर्वाचनको जित र हार महत्वपूर्ण होइन, काँग्रेसको अनुहार कस्तो हुन्छ त्यो महत्वपूर्ण कुरा हो । ठीक बाटोमा हिँड्ने काँग्रेस बनाउँछौँ । हामी संख्यामा भाग खोज्दैनौँ ।
विचारमा प्रतिनित्वि हुनुपर्छ । म प्रधानमन्त्रीलाई भन्न चाहन्छु । जिम्मेवारीका साथै परिवर्तनको काँग्रेस देखिनुपर्छ । तपाईलाई जिम्मेवारीको बोझ थपिरहेको छ ।
त्यो बोझ कसरी पूरा गर्नुहुन्छ । काँग्रेस परिवर्तनको अवसर खेर नजाओस् ।’ मन्त्री रिजालले डा. कोईरालामाथि जिम्मेवारीको बोझ थपिएको भन्दै आफूले प्राप्त गरेको मतबाट एकतावद्ध काँग्रेस बनाउन आग्रह गरे । उनले प्रधानमन्त्री देउवालाई काँग्रेसमा परिवर्तन देखिने गरी काम गर्न पनि आग्रह गरे ।
प्रकाशित मिति : December 15, 2021 at 6:57 pm









