२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

सभापतिमा देउवालाई समर्थन गर्ने सिंह र निधीको प्रतिवद्धता, देउवाको जित सुनिश्चित

२८ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बचन दिएका छन् ।

मंगलबार बिहान निधि निवास नयाँ बानेश्वर पुगेर देउवाले निधिसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफ निधिले सहयोग गर्ने बचन दिएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यू आज बिहान पहिले प्रकाशमान सिंहको निवास चाक्सीबारी र त्यसपछि विमिलेन्द्र निधि निवास पुग्नुभयो । सिंहले लिखित प्रतिबद्धता नै जनाउनु भएको छ । निधिले निःसर्त सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो,’ सिग्देलले भने ।

यसअघि नेपाली कांग्रेसको सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय लिएका थिए । मंगलबार बिहान चाक्सीबारीमा भएको देउवा सिंह भेटवार्तामा यस्तो सहमति भएको हो । दुवै नेताबीच लिखित सहमति भएको छ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । देउवाले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ । त्यसअघि नै देउवालाई सिंहले समर्थन गर्ने निर्णय गरेका हुन् । भेटवार्तामा उपसभापतिकी उम्मेदवार सुजाता कोइराला पनि उपस्थित थिइन् ।

प्रकाशित मिति : December 14, 2021 at 12:08 pm