प्रचण्ड र माधव नेपाल कांग्रेसले हात समात्न छाड्छ कि भनेर डराइ रहेकाछनः अध्यक्ष ओली
२४ मंसिर, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसले हात समात्न छाड्छ कि भनेर डराइरहेको बताएका छन । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।
सम्बोधन गर्दै ओलीले भने, ‘केही साना दललाई कांग्रेसले हात समात्न छाड्छ कि भन्ने चिन्ता छ । केही साना दललाई कांग्रेसले हात समात्न छाड्छ कि भन्ने चिन्ता छ, सँगै जानुपर्छ भनेको त्यहि डर हो । सँगै जान भनेको सरकारमा मात्र होइन चुनावमा पनि । सँगै जाने भनेको सरकारको लागि कि विकास र सम्मृद्धिको लागि । सरकारबाट हट्नुपर्ने हो कि भन्ने कतिपयलाई चिन्ता होला तर एमालेलाई छैन । हामी सँगै छैनौ र रु एमाले एक्लै हिड्न रहर गर्दैन र अरुको भरमा राजनीति पनि गर्दैन ।’

उनले नेपाली कांग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पार्टी भएको पनि बताए । उनले यो पार्टीकै नेतृत्वमा देशमा धेरै क्रान्ति भएको उल्लेख गर्दै आगामी दिनमा अझै फैलिने र विस्तार होस् भन्ने शुभकामना दिए । ओलीले आफू कसैप्रति आलोचना नगर्ने बताउँदै देशमा धेरै परिवर्तन भएको उल्लेख गरे । ओलीले देश अन्धकारमै नरहेको उल्लेख गरे । कांग्रेस र एमालेको नेतृत्वले नै देशलाई सही दिशामा अघि बढाएको बताए ।
ओलीले कांग्रेसले अर्काको एजेण्डा बोकेर नहिड्न सुझाव पनि दिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह पनि गरेका छन् । उनले महाधिवेशको शुभकामना दिँदै भने, ‘नेपाली कांग्रेस अरुको एजेण्डा बोकेर हिड्न छाड्नु पर्छ । आफ्नो एजेण्डा लिएर अघि बढोस् ।’

प्रकाशित मिति : December 10, 2021 at 5:17 pm









