२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

सदनबाट नभए सडकबाट राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउँछु : राजेन्द्र लिङ्देन

१९ मंसिर, काठमाडौं । राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी विभाजित हुने र बहुमत प्राप्त सरकार पनि पूरा कार्यकालसम्म नटिक्ने अवस्था पार्टीको विधान र कानुनमा नेतृत्वको हस्तान्तरणको व्यवस्था नगरिएको कारण रहेको दाबी गरे ।

नेतृत्व हस्तान्तरणको व्यवस्था नहुँदा अरू पार्टीसँग मिलेर आफ्नै पार्टीका नेताले र अरू पार्टी पनि सरकार बनाउने र ढाल्ने कार्यले निरन्तरता पाएको उनको भनाइ छ ।

यसैको अन्त्यका लागि आफूले राप्रपामा नयाँ नेतृत्व ल्याउनुपर्ने निष्कर्षसहित आफूले उम्मेदवारी दिएको लिङ्देनले जानकारी दिए ।

आफू नेतृत्वको नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापासहित पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीको योगदान अझै पार्टीलाई आवश्यक रहेको बताए ।

राप्रपामा थापाले पु¥याएको योदानको उच्च रहेको भन्दै उनले निवर्तमान अध्यक्षत्रय थापा, जबरा र लोहनी अभिभावकको रूपमा मात्र होइन सक्रिय नेताको भूमिका पार्टीमा आवश्यक रहने बताए ।

कुनै तुष भए त्यसलाई फ्यालेर देश र जनताको हितमा काम गर्न सबै मिलेर अघि बढनुपर्ने लिङ्देनको भनाइ छ । कार्यक्रममा कमल थापा नआएकोमा खल्लो महसुस गरेका लिङ्देनले भने, ‘आजको यस कार्यक्रममा कमल थापा आउनु भएको भए सुनमा सुगन्ध हुने थियो ।’

अब राप्रपा नेतृत्व हस्तान्तरणको अभियानमा अघि बढ्ने उनको भनाइ छ । चुनौतीलाई अवसरको रूपमा लिएर राप्रपालाई देशको अग्रणी पार्टी बनाएर लैजाने बताउँदै उनले पार्टीको एजेण्डा स्थापित गराउन भूमिका निर्वाह गर्ने बताए ।

सदनबाट नभए सडकबाट भए पनि राप्रपाको एजेण्डा स्थापित गराउने प्रतिबद्धता जनाएका लिङ्देनले पार्टीमा आफू नेतृत्वमा देखिए पनि पाका र अनुभवी नेताहरू साथमा रहेकाले एजेण्डा स्थापित गराउन सकिने बताए । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेण्डा लिएको छ ।

युद्धकालमा माओवादीका कार्यकर्ताको कुटाइबाट र एक दिनमात्र ढिलो उपचार भएको भए ज्यान जाने गरी बिरामीबाट बाँचेर आफू आएको भन्दै उनले भने, ‘अब पार्टीमा कुनै गुट छैन । अब हामी हिजोको कुरा लिएर हिँड्दैन । सबै यही बिर्सिएर जान्छौँ । म विरुद्ध मतदान गरेका साथीहरूले कुनै संकोच नमान्नुहोला । म सानो चित्त बोकेर राजनीतिमा आएको होइन । म पूर्वाग्रह राख्दिनँ ।’

प्रकाशित मिति : December 5, 2021 at 5:46 pm