२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

लोकेन्द्रबहादुर चन्द पनि युवाको पक्षमा, लिङ्देनलाई सहयोग गर्न कमल थापालाई आग्रह

१५ मंसिर, काठमाडाैँ । राप्रपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राप्रपाको नेतृत्व अब युवापुस्तालाई दिनु उचित हुने आशय व्यक्त गरेका छन् ।

भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै उनले अध्यक्षको दौडबाट पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पछि हटिसकेकाले अब कमल थापा पनि हट्नुपर्ने बताए ।

‘हिजो पशुपति र लोहनी अध्यक्षको दौडबाट हटिसक्नुभयो’, उनले भने, ‘अर्का नेता (कमल थापा)पनि अध्यक्ष दौडबाट हट्नुपर्छ । यो सरुवा रोगजस्तो होइन । कोही मेरो नजिक आएर हाँस्यो भने म नहाँसिकन बस्न सक्दिनँ । त्यसैले अध्यक्षद्वय जबरा र लोहनी पछि हटेकाले अब थापा पनि हट्नुपर्छ ।’

नेकपा मालेका सिपी मैनाली राप्रपाको अध्यक्ष बन्न लागेको भए शुभकामना भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर चन्दले पनि मैनाली राप्रपामा आउने भए स्वागत गर्ने बताए ।

मुलुकमा एउटा स्थायी संस्थाको आवश्यक रहेको भन्दै उनले राजसंस्था पुनर्स्थापना गर्नुपर्नेमा जोड दिए । तर, राजसंस्थालाई कस्तो अधिकार दिने भन्ने विषयमा भने छलफल गर्नसकिने चन्दको भनाइ छ ।

प्रकाशित मिति : December 1, 2021 at 2:45 pm