७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पहिरो व्यवस्थापन नहुँदा आवतजावतमा कठिन

– ज्ञानेन्द्र न्योपाने

१३ साउन, रसुवा । एक दशक अगाडिदेखि खस्दै आएको पहिरो नियन्त्रण हुन नसक्दा दक्षिणी रसुवाको जिबजिबेवासी दैनिक चुनौतीको सामाना गर्दै धोबिखोला पार गर्छन् ।

धैबुङकोटको घुम्ती स्थानको पासाङल्हामु राजमार्गबाट पूर्वतर्फ जिबजिबे जाने सहायक मार्गमा वर्षायाममा पहिरो खस्ने गरेकाले कालिकास्थानदेखि पूर्वीक्षेत्र जिबजिबे, ज्याङलाङ, चित्ती, बडहरे, खाल्चेत, बेताङलगायतका गाउँका बासिन्दा प्रभावित भएको स्थानीय समाजसेवी विष्णुप्रसाद पौडेलले बताउनुभयो । विसं २०५९ देखि प्राङ्से गाउँबाट खसेको पहिरो रोक्न थुप्रै खर्च लाग्ने भएकाले कालिका गाउँपालिकाले पहिरो रोक्न ध्यान दिन नसक्दा वर्षाका बेला विद्यार्थीलाई स्कूल जान, बिरामी तथा सुत्केरीलाई अस्पताल पु¥याउन र मृतक व्यक्तिलाई वेत्रावतीको उत्तरगयाघाटमा दाहसंस्कारका लागि पु¥याउन कठिन भएको स्थानीयवासीको गुनासो थियो ।

प्राङसेदेखिको पहिरोले धोबिखोलाको पुच्छार फलाखु खोलासम्म असर पु¥याइरहेको र यसका लागि करिव रू पाँच करोड लाग्ने अनुमान गरिएकाले गाउँपालिकाले गरेको लगानी प्रर्याप्त नभएको समाजसेवी पौडेलले जानकारी दिनुभयो । वर्षायाममा पहिरो निरन्तर आइरहने र ढुंगा छल्दै दगुरेर भाग्नुपर्ने भएकाले कालिकास्थानदेखि पूर्वी भाग नौकुण्ड गापाको सरसिउँ, घोर्मु आरुखर्क समेतका बासिन्दालाई आवत जावतमा कठिन भएको र बिहान कालिकास्थान गएको मान्छे बेलुका घर फर्किन्छ कि, फर्किंदैन भन्ने डरसमेत बढ्दै गएको उहाँको भनइ थियो ।
यस्तै भारी वर्षाका कारण आएको पानीले नुवाकोटको लच्याङदेखि रसुवाको पाटीखर्क, सिम्ले भोर्ले, डाँडागाँउ, ठूलोगाउँ, समेतको ग्रामीण कृषि सडक बन्द भएको नागरिक समाजले जनाएको छ । वेत्रावती–धुञ्चे, स्याफ्रूखण्डको पासाङल्हामु राजमार्ग सञ्चालनका लागि आवश्यक उपकरण र प्राविधिक तैनाथ भए पनि ग्रामीण क्षेत्रका कृषि सडक मर्मत नहुँदा सधैँ सडक समस्या भोग्नु परेको त्यहाँका बासिन्दाको गुनासो थियो ।

भिरालो भू–भाग, भारी वर्षाका कारण कुन ठाउँमा पहिरो जान्छ भने ठेगान नहुँदा स्यापु्र–रसुवागढीखण्डको लिङलिङ क्षेत्र पनि जोखिम रहेको यहाँका सवारी चालकले बताए । भारी वर्षाका कारण नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिका केही भागमा जोखिम बढ्दै गएकोे हो ।

प्रकाशित मिति : July 29, 2018 at 3:05 pm