२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

अध्यक्षमा पराजयपछि एमालेको कुनै पनि कमिटीमा नबस्ने डा भीमबहादुर रावलको घोषणा

१४ मंसिर, काठमाडाैँ । नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका छन । अध्यक्ष पदमा उम्मेदवारी दिएका रावलले आफू अध्यक्षमा विजयी नभए स्वतः पार्टी कमिटीबाट बाहिर रहने बताएका हुन ।

मंगलबार चितवनको साैराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै रावलले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रिय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको दोहो¥याउँदै त्यसमा सपथ लिन नसक्ने स्पष्ट पारे ।

अध्यक्षका उम्मेदवार रावलले भने, ‘मैले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको छैन । र अध्यक्ष पदमा विजय भए सपथ लिन्छु । अरुमा त मैले भेरेकै छैन भन्ने कुरा मेरो यथावत छ । अव प्रतिनिधिहरुले मत दिएनन भने त कमिटी बाहिर बस्ने कुरा त सामान्य नै हो नि, मेरो लागि । त्यो त केही छैन ।’

रावलले पार्टीको आठौँ महाधिवेशनमा पनि आफूले केन्द्रिय सदस्यमा उम्मेदवार नदिएकाले सपथ नलिएको पनि स्मरण गराए । उनले महाधिवेशनको मत परिणाम २ घण्टा भित्रै आउने आफूले अपेक्षा गरेको पनि बताए । रावलले निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । जारी मतगणनामा ४४२ मत गणना हुँदा अध्यक्षमा ओलीले ४ सय र रावलले ४२ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : November 30, 2021 at 1:54 pm