६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

कांग्रेस दाङ जिल्ला सदस्यमा श्रेष्ठले ल्याए ७४ प्रतिशत मत


१३ मंसिर, दाङ । दुई समूह बनाएर निर्वाचनमा होमिँदा अत्यधिक मत प्राप्त गरेर विजयी हुने कमै मात्र उम्मेदवार हुन्छन् । आफ्नो प्रतिस्पर्धी भन्दा दोब्बर बढी मत झनै कमैको आउँछ । अत्यधिक मत ल्याउन व्यक्तिको लोकप्रियताले महत्त्व राख्छ ।

नेपाली कांग्रेस दाङ जिल्ला अधिवेशनमा एक जना सदस्यले निर्वाचन प्रक्रियामा रहेका सबै उम्मेदवार भन्दा बढी व्यक्तिगत मत प्राप्त गरेका छन् । जिल्ला सदस्यका उम्मेदवार सुरेश कुमार श्रेष्ठले कुल मतको ७४ प्रतिशत मत प्राप्त गरेका हुन् । दाङ जिल्ला सदस्यमा तुलसीपुर उपमहानगरपालिकाका-५ का वडा सदस्यसमेत रहेका श्रेष्ठ सबैभन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका छन् ।

श्रेष्ठले १ हजार ५ सय ६९ मत प्राप्त गरेका हुन् । निर्वाचनका क्रममा कुल २ हजार १ सय ३६ मत खसेको थियो । त्यसै माक्स म्यान भनेर सामाजिक कार्यमा चिनिएका वीरबहादुर खत्री विरुले पनि १ हजार ३ सय मत प्राप्त गरेका छन् ।

त्यस्तै जिल्ला सदस्यमा चेतराम चौधरीले १ हजार २ सय ९३ मत प्राप्त गरेका छन् । उनले थारु खुल्लातर्फबाट उम्मेदवारी दिएका थिए ।

अन्य सदस्यमा क्रमशः आदिवासी जनजाति (खुल्ला) तर्फबाट तुलसीराम रानाले १ हजार २ सय ५०, खस आर्य महिलातर्फबाट केसरा पोखरेलले १ हजार १ सय ६२, सोही कोटाबाटै शान्ता पाण्डेले १ हजार १ सय १७, थारु खुल्लाबाट भागिरथ चौधरी १ हजार १ सय ८, मधेसी अपांगतर्फबाट राजकुमार धितालले १ हजार ९८, थारु खुल्लातर्फबाट गदुलाल चौधरी १ हजार ९४, दलित खुल्लातर्फबाट चेतना चौधरी १ हजार ४८ र खेमराज विश्वकर्मा १ हजार ३३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार १९:१२