२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

काँग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने बद्रिप्रसाद पाण्डेकाे घोषणा

१३ मंसिर, काठमाडाैँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रिप्रसाद पाण्डेले पार्टीको १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रिय सदस्य पाण्डेले पार्टीको १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले पार्टी सुधारेर राजनीति सुधार्ने र राजनीति सुधारेर देश सुधार्ने बाटोमा लैजान आफू अग्रसर रहने बताए । केन्द्रिय सदस्य पाण्डेले विचारमा एकरुपता र स्पष्टता, विधानको अक्षरशः पालना, नियमित बैठक तथा कार्यकर्ता, कार्यालय र अर्थको व्यवस्थापन नै पार्टी सुदृढीकरणको आफ्नो पहिलो एजेण्डा भएको बताए ।

पुराना पुस्ताको योगदान र बलिदानलाई स्मरण गर्दै नयाँ पुस्ताको सोचलाई पार्टीमा अघि बढाउने उनले बताए । केन्द्रिय सदस्य पाण्डेले भन्नुभयो, ‘म १२ औँ अधिवेशनमा सेती अञ्चलबाट केन्द्रिय सदस्य निर्वाचित भएको हुँ,१३ औँ अधिवेशनमा म खुला २५ जनाबाट केन्द्रिय सदस्यमा निर्वाचित भएको हुँ ।

अहिले पदाधिकारी तहमा जानुपर्छ, पदाधिकारीको संख्या पनि केन्द्रिय समितिमा बढेको छ, त्यो हिसावले मैले आफ्नो पिछडिएको क्षेत्र, म आफू बाजुराको नागरिक पनि भएको कारणले बाजुराको बासिन्दा पनि भएको कारणले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको उम्मेदवारी दिने विचार गरेको छु ।’ केन्द्रिय सदस्य पाण्डेले देशभरका साथीहरुले पदाधिकारीमा पुग्नुपर्छ भन्ने सुझाव आएपछि उम्मेदवारी दिएको बताए।

प्रकाशित मिति : November 29, 2021 at 5:00 pm