२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

अमेरिकी मन्त्री भेटेपछि फेरिए प्रचण्ड, संशोधनबिनाकै एमसीसी पारित गर्ने घोषणा (भिडियो)

८ मंसिर, धनगडी । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने बताएका छन् । पार्टीको कार्यक्रममा सहभागि हुन बुधबार धनगढी आइपुगेका प्रचण्डले सुरुमा गरिएको एमसीसीको सम्झौतालाई पारित गर्नुपर्ने बताएका हुन् ।

आफू प्रधानमन्त्री हुँदा २९ भदौ २०७४ मा अमेरिकामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले र एमसीसीका तर्फबाट कार्यवाहक सीईओ जोनाथन नाशबीच भएको एमसीसीको सम्झौता नै पारित गर्नुपर्ने प्रचण्डले बताएका हुन् ।

‘सुरुमा संसदबाट पारित गर्नुपर्ने गरी एमसीसी सम्झौता भएको थिएन’, प्रचण्डले भने, ‘पछि ओली सरकारले त्यसलाई परिमार्जित गरेर संसदबाट पास गर्नुपर्ने नीति ल्याएपछि विवाद बढेको छ, त्यसैले सुरुको सम्झौतामा फर्केर पास गर्नुपर्छ ।’ अमेरिकी सहयोग नेपालले लिँदै आएको र एमसीसी पनि स्वीकार्नु पर्ने बताएका उनले अमेरिकी सहयोग नलिने नेपालको नीति पनि नरहेको स्पष्ट पारे ।

अमेरिकासँग ७५ वर्षदेखि सम्बन्ध रहेको र त्यसबीचमा सबै सहयोग नेपालले लिँदै आएको स्मरण गराउँदै प्रचण्डले एमसीसी पनि स्वीकारेर सदनबाट पारित गर्नुपर्ने बताएका हुन् । ‘तर, संसदबाट पारित गर्ने भन्दै ओली नेतृत्वको सरकारले एमसीसीका केही जटिल बुँदा थपेको छ । सुरको सम्झौता विवादित थिएन । त्यसैले सुरुवाती सम्झौतामा फर्केर सो योजना पास गर्नुपर्दछ’, उनले भने ।

प्रकाशित मिति : November 24, 2021 at 11:47 am