७ असार २०८३, आइतबार | Sun Jun 21 2026

श्रमजीवी पत्रकारको हकहितमा सरकार प्रतिबद्धः मन्त्री बाँस्कोटा

१२ साउन,पोखरा। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारिताको विकासका लागि आवश्यक ऐन कानूनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीको भवन निरीक्षण एवं भेटघाट कार्यक्रममा उहाँले पत्रकारिताको विकास, सम्वद्र्धन, पेशागत सुरक्षा एवं जीवन्तताका लागि आवश्यक ऐन कानून निर्माणको तयारी गरिएको बताउनुभयो ।

श्रमजीवी पत्रकारको हकहितमा सरकार प्रतिबद्ध भएको बताउँदै उहाँले यही असारदेखि पत्रकारले बैंकबाटै पारिश्रमिक भुक्तानी पाउने व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

समानुपातिक विज्ञापनसम्बन्धी नयाँ ऐन आउन लागेको जानकारी दिँदै उहाँले आम सञ्चार ऐन आउँदै गरेको र मिडिया काउन्सिलसम्बन्धी नयाँ व्यवस्था गरिनलागेको जानकारी दिनुभयो ।

अनलाइनलाई पत्रकारिताको मूलधारमा ल्याउने सरकारको तयारी रहेको बताउँदै मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल र अनलाइन एउटै नभएको उल्लेख गर्नुभयो । पत्रकारितामा पेशागत लक्ष्मण रेखाको मर्यादा हुने उहाँको भनाइ छ ।

मन्त्री बाँस्कोटाले पाठक एवं दर्शकको छनौटमा पर्ने गरी सञ्चार माध्यमले आफूलाई प्रतिस्पर्धामा उतार्नुपर्ने बताउनुभयो ।सञ्चार माध्यम संरक्षणभन्दा पनि प्रतिस्पर्धात्मक बन्नु आवश्यक रहेको औल्याउँदै उहाँले संरक्षणका लागि लोक कल्याणकारी विज्ञापन जारी रहेको बताउनुभयो ।

संविधानले संघ, प्रदेश र स्थानीय तहका लागि फ्रिक्वेन्सीको अधिकार व्यवस्था गरेको बताउँदै उहाँले ती अधिकार पाउने विषयलाई व्यवस्थित गराउनका लागि कानुन मन्त्रालयलाई अघि बढाउन भनिएको बताउनुभयो ।सरकारले पत्रकार वृत्ति कोष स्थापना गरेको बताउँदै उहाँले हाल त्यसका लागि रु. एक करोड विनियोजन गरिएको र अर्को वर्ष दुई करोड हुने उल्लेख गर्नुभयो ।

पत्रकारमाथि आक्रमण गर्नेलाई सरकार हेरेर नबस्ने बताउँदै मन्त्री बाँस्कोटाले सरकार पत्रकारको पेशागत सुरक्षाका लागि तत्पर रहेको उल्लेख गर्नुभयो । कार्यक्रम नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : July 28, 2018 at 4:21 pm