५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

ग्रीन सिटीद्वारा बुद्धमायाको निःशुल्क उपचार

६ साउन,काठमाडौँ । ग्रिन सिटी अस्पताल काठमाडौँ, बसुन्धराले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गर्नुभएकी बुद्धमाया विश्वकर्माको निःशुल्क उपचार गरेको छ ।

महोत्तरी बर्दिवास–४ भब्सीटोल निवासी ४८ वर्षीया विश्वकर्माले यही असार २७ गते विष सेवन गरेर मानसिक सन्तुलन गुमाउन थालेपछि तीन दिन जिल्लामा उपचार गरेर थप उपचारका लागि काठमाडौँ ल्याएपछि ग्रीन सिटीले निःशुल्क उपचार गरेको हो । ग्रीन सिटीले करीब रु दुई लाख बराबरको सम्पूर्ण उपचार खर्च निःशुल्क गरेको हो ।

“जिल्लामा तीन दिनसम्मको उपचारमा केही सुधार नआएपछि आर्थिक अभावकै कारणले अन्य अस्पतालमा उपचारमा हुन नसकेको  जानकारी पाएपछि ग्रिन सिटीले निःशुल्क उपचार गर्ने घोषणा गरेको हो” – ग्रीनसिटीका अध्यक्ष लोकबहादुर टण्डनले भन्नुभयो ।

जिल्ला अदालत महोत्तरीले असार २४ गते आफूलाई जातीय भेदभाव गर्नेविरुद्ध छ महिना कैद फैसला सुनाएपछि डर, त्रास धम्कीका कारण विश्वकर्मा आफैँले विष सेवन गरी आत्महत्याको प्रयास गर्नुभएको थियो । अहिले विश्वकर्माको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । सामाजिक असुरक्षाका कारण आफूले विष सेवन गरेको विश्वकर्माले बताउनुभयो ।
पछिल्लो पटक आर्थिक अवस्था कमजोर भएका १६ जना मुटुका बिरामीको निःशुल्क उपचार गरेको अध्यक्ष लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : July 22, 2018 at 9:25 am