मेडिकल कलेजका लागि मनमोहनको मापदण्ड पूरा
२ साउन, काठमाडाैँ । प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले आफ्नो संस्था पूर्व प्रधानमन्त्री स्व मनमोहन अधिकारीको योगदानलाई चिरस्थायी गर्ने उद्देश्यले स्थापना गर्न खोजिएको सेवामूलक संस्था भएको जनाएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका उपाध्यक्ष डा वंशीधर मिश्रले कुनै पनि देशमा ऐतिहासिक व्यक्तिको नाममा शहर, विमानस्थल, विद्यालय, क्याम्पस, अस्पताल, खेलकुद मैदानको नाम राखेर उनीहरुको योगदानलाई स्मरण गर्ने परम्पराअनुसार उक्त संस्था स्थापना गर्न लागिएकोमा त्यसलाई अनावश्यक राजनीतिकरण गरिएको विचार व्यक्त गर्नुभयो ।

एउटा शक्तिशाली आयोग बनाएर त्यसको सुझावका आधारमा मुलुकका विभिन्न भागमा सुविधा सम्पन्न अस्पताल खोल्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “मनमोहनको नाममा हामीले त्यस्तो लुट्ने वा कमाउने धन्दा चलाउने कुरै हुँदैन, अरुभन्दा धेरै छात्रवृत्ति दिने, अरुभन्दा राम्रो स्वास्थ्य सेवा सुविधा दिने भनेका छौँ ।”
देशभरका सबै पक्षका विभिन्न तह र तप्काका करीब दुई हजार ६०० सदस्यले रु एक/एक लाख जम्मा गरी सहकारीको माध्यमबाट स्थापना गर्न लागिएको उक्त संस्था आवश्यक मापदण्ड पूरा गरी मनसाय पत्र प्राप्त गरिसकेको जनाएको छ ।
प्रकाशित मिति : July 18, 2018 at 6:21 pm









