एसईई उत्तीर्ण विद्यार्थी अन्याेलमा, कलेज भर्ना हुन नपाउँदा खिन्न
८ भदौ, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको दुई साता नाघिसक्यो । तर, एसईई उत्तीर्ण विद्यार्थी भने अझै अन्याेलमै छन् ।
कोरोनाभाइरस महामारीका कारण बन्द भएका कलेजहरू कुनैले कक्षा ११ र १२ को भर्ना लिइरहेका छन् त, कुनै पूर्णरुपमा बन्द छन् । अहिले आंशिक कलेजले मात्रै भर्ना लिइरहेको र कक्षा कहिलेदेखि सञ्चालन हुने जानकारी नभएकाले कहाँ के गर्ने आफू अन्याेलमा परेको काठमाडौं मनमैजुकी १६ वर्षीया निशा दर्माली बताउँछिन् ।
बालाजु माछापोखरीस्थित गोरखकाली इंग्लिस बोर्डिङ स्कुलबाट एसईई दिएकी उनको नतिजा ए प्लस ग्रेड आएको छ । उनले आफू विज्ञान विषय लिएर पढ्ने योजनामा रहेको बताइन् । दाङ घोराही घर भएका १६ वर्षीय आयुष गिरी एसईई नतिजा सार्वजनिक भएको केही दिनमै काठमाडौं आए ।
सिभिल इन्जिनियरिङ पढ्ने सोच बनाएका गिरीले पनि काठमाडौंको भनेजस्तो कलेजमा भर्ना पाउन सकेनन् । ‘मेरो एसईईमा ए प्लस आएको छ, मलाई सिभिल इन्जिनियरिङ पढ्ने धेरै नै इच्छा भएर हतारिँदैं काठमाडौंसम्म आएँ,’ उनी भन्छन्, ‘तर कलेजले कहिले भर्ना लिने, कहिले कक्षा सुरु गर्ने केही पत्तो नहुँदा दोधारमा परियो ।’
यी प्रतिनिधि पात्र मात्रै हुन् । एसईई उत्तीर्ण भएर उच्च शिक्षा अध्ययनको पर्खाइमा रहेका विद्यार्थीहरु अन्याेलग्रस्त बनेका छन् । तर, यसप्रति सरोकारवाला निकायको ध्यान जान सकेको छैन । कोरोनाभाइरसले विकराल रुप लिँदै आएपछि यो वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा सार्वजनिक गरेको थियो । परीक्षामा चार लाख ८४ हजार दुई सय ७८ परीक्षार्थी सहभागी थिए ।
प्रकाशित मिति : August 24, 2021 at 2:49 pm









